काठमाडौं – कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ ।


ADVERTISEMENT


हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनासा दर्ता भएका छन् ।


ADVERTISEMENT

# # #


सरकारले २०७७ माघमा सुरु गरेको नागरिक एप नचलेको–नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताए । उनले भने, “नागरिक एप सुरु भएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रप्रति गुनासो सर्वाधिक छ । नागरिक तहबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।” नागरिकले फोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने र सरकारबाट त्यस्ता समाधान गरिने अभिप्रायले सुरु गरिएको हेलो सरकारमा २०७६ साउन १ यता १६ हजार ४८ वटा गुनासा दर्ता भएका छन् । तीमध्ये १० हजार २९४ वटा उजुरी हेलो सरकार कक्षबाटै फस्र्योट भएका छन् । कुल उजुरीका आधारमा यो ६४।१५ प्रतिशत हो । सम्बन्धित निकायबाट समाधान भएका गुनासोको सङ्ख्या ३१२ छ ।

पाण्डेका अनुसार विभिन्न सरकारी निकायबाट दुई हजार ३९४ वटा गुनासाको अनुसन्धान भइरहेको छ । सम्बन्धित निकायबाट हेरिए पनि कारबाही प्रक्रियामा नगएका गुनासा एक हजार ४२१ रहेको जानकारी दिँदै उहाँले एक हजार ६२७ वटा उजुरी सम्बन्धित निकायबाट नहेरिएको बताए । त्यसैगरी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित एक हजार ४१, नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ५९८, नेपाल टेलिकमसँग सम्बन्धित ४२८, यातायात व्यवस्था विभागसँग सम्बन्धित ३८६ र काठमाडौँ महानगरपालिकासँग सम्बन्धित ३२५ वटा गुनासा हेलो सरकारमा दर्ता भएको पाण्डेले बताए । गोरखापत्र दैनिकबाट ।