ललितपुर – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो ।


ADVERTISEMENT


सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन् । उनले भनिन् ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दियो ।’


ADVERTISEMENT

# # #


उनले स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि उपत्यकामा संक्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको बताइन् । कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो ।

आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ । पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए ।

पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि अवलोकनकर्ताको संख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।