पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको आगमनसंगै नेपालमा कोरोनाको तेस्रो लहरको शुरुआत भइसकेको छ । यो भेरियन्ट कम घातक रहे पनि यस अगाडिका भेरियन्टको तुलनामा थप संक्रामक रहेको पाइएको छ । यस भेरियन्टकै कारण पछिल्लो ४/५ दिनमा नेपालमा अहिलेसम्मकै उच्च कोरोना संक्रमण दर देखिन थालेको छ भने तीमध्ये हालसम्म आधिकारिक रुपमा देशभर २७ जनामा ओमिक्रोन भाइरस पुष्टि भएको पाइएको छ । तत्कालको सन्दर्भमा


ADVERTISEMENT


कोरोना संक्रमण भएकाहरुमा पनि ८५ प्रतिशतमा सामान्य असर, १० प्रतिशतलाई अस्पताल पुग्नुपर्ने प्रशितभन्दा कमलाई मात्रै आईसियु तथा भेन्टिलेटरको अवश्यकता परेको विज्ञहरुको भनाई


ADVERTISEMENT

# # #


विगतमा अस्पतालको क्षमताभन्दा बिरामीको चापमा ह्वात्तै वृद्धि भएपछि गत वैशाखतिर देखिएको लहरमा नेपालकै राष्ट्रिय सरुवा रोग केन्द्र, टेकु अस्पतालमा बिरामीले बेडसंगै अन्य आवश्यक उपकरणका अभावमा उचित उपचार नपाएको अवस्था थियो यससंगै हाल नेपालमा कोभिड१९ को तेस्रो लहर शुरु भएको यो रेसियो बढेर आगामी दिनमा दैनिक १५ देखि २० हजार पुग्ने विज्ञहरुले प्रक्षेपण गरिरहँदा यसै सन्दर्भमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग केन्द्र, टेकु अस्पतालको तयारीको सन्दर्भमा अस्पतालका कार्यकारी निर्देशक डा. मनिषा रावलसंग गरिएको कुराकानी :

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग केन्द्र, टेकु अस्पतालको हालको अवस्था के छ?

पछिल्लो ४/५ दिनदेखि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या वृद्धि भएको देखिएको छ । आजको अवस्थाबारे भन्नुपर्दा आज हामीसंग १६ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेको अवस्था छ । त्यसमध्ये पनि दश जना आईसीयूमा र अन्य ६ जना भने एचडियु(हाई डिपेन्डेन्सी युनिट) मा उपचारत हुनुहुन्छ । यस्तै, पछिल्लो २४ घन्टामा इमेरजेन्सीमा आउने बिरामीको संख्या पनि २५–३० पुगेको देखिएको छ । यद्यपि उहाँहहरु सबैलाई भर्नाको अवश्यकता भने परेको छैन ।

अस्पतालमा भर्ना हुने कोभिड–१९ का बिरामी संख्या कति छ ?

हिजो(बिहीवार) मात्रैको कुरा गर्ने हो भने ८ जना जति भर्ना भएका छन् । पछिल्लो मंगलबारदेखिको आँकडालाई हेर्ने हो भने अस्पतालमा त्यसयता भर्ना हुने बिरामीको संख्यामा वृद्धि भएको छ ।

संक्रमण भएरै भर्ना भएका र आईसीयूमा हामीसंग ३० वर्ष माथिका देखि सय वर्षसम्मको एकजना आमा पनि हुनुहुन्छ । यदि समग्रमा भन्ने हो भने विशेषगरी दमजस्ता दीर्घरोग भएका र ६० वर्षमाथिका समूहका हकमा मात्रै आईसीयूमा राख्नुपर्ने अवस्था सृजना भएको देखिन्छ ।

विगतका लहरको सन्दर्भमा बिरामीको चाप अत्याधिक भएका कारण कयौँले बेडसमेत नपाएको अवस्था थियो । यस सन्दर्भमा अस्पतालको हालको तयारी कस्तो छ?

गत महामारीमा डेल्टा भेरियन्टले सताउँदा अस्पतालको क्षमताभन्दा अत्याधिक मात्रामा केशहरु ह्वात्तै बढेकाले शुक्रराज ट्रोपिकलसंगै देशभरका अस्पतालहरुमा शय्या नपाउने अवस्था रहेको थियो । तर, हालको सन्दर्भमा डेल्टासंगै केही ओमिक्रोनका केशहरु पनि रहेकोले गत वैशाखको महामारीको अस्पताल र बिरामीको चापको तुलना गर्दा हाल त्यस्तै अवस्था रहेको देखिदैँन ।

यद्यपि विगतका हप्तामा भन्दा पछिल्लो ४/५ दिनदेखि अस्पतालमा कोरोना संक्रमितका केशहरु बढिररहेको छ । र, सोही बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै हामीले हाल त्यसका निम्ति अक्सिजन तथा आवश्यक उपकरणहरुको उचित व्यवस्थापन गरेका छौँ । यद्यपि आजको दिनसम्म अस्पतालले ओपिडी तथा इमेरजेन्सी दुवै विभागमा कोभिड र नन-कोभिड दुवै सेवाहरु प्रदान गरिरहेको छ । यदि विगतमा जस्तै संक्रमितको संख्या ह्वात्तै बढेको खण्डमा भने हामीले के गर्ने ? भन्नेतर्फ पनि हामी सचेत छौँ । ।

तेस्रो लहरको शुरुआतीमै स्वास्थ्यकर्मी समेत संक्रमण हुने क्रम जारी छ । यस विषयमा अस्पतालले हाल स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गरिरहेको छ ?

आजको मितिसम्म शुक्रराज ट्रोपिकलका ४० जना स्वास्थ्यकर्मीहरु संक्रमित हुनुभएको छ । यसअघि हामीसंग २० जना कोभिड–१९ बिरामी हेर्ने स्वास्थ्यकर्मी साथिहरु हुनुहुन्थ्यो । तर, पछिल्लो समयमा बाहिर संक्रमितको संख्यासंगै यहाँका धेरैजसो साथीहरु पनि सेवा प्रदान गर्ने क्रममा पछिल्लो ४/५ दिनमै बढी संक्रमित हुनुभयो ।

तर, एक हप्ता अगाडि संक्रमित हुनु भएका स्वास्थ्यकर्मी साथीमध्ये केही यसै हप्तादेखि ड्युटी जोइन गरी सक्नुभएको छ भने कोही ड्युटी शुरु गर्ने क्रममा पनि हुनुहुन्छ । उहाँहरु संक्रमणकै कारण होम आइसोलेशनमा बस्नुभएको हो । तर, उहाँहरुमध्ये पनि कसैलार्ई पनि गाहृो भएर अस्पतालमै बस्नुपर्ने अवस्था भने छैन ।

संक्रमित भएका व्यक्तिहरुको ड्युटी अन्य स्वास्थ्यकर्मी साथीहरुले गरिदिएर सामूहिक सहकार्यद्वारा हामीले हालसम्म अस्पतालको सेवालाई निरन्तरता दिइरहेका छौँ । तर, योभन्दा बढी संख्यामा बिरामीको चाप बढ्यो र सोही समयमा हाम्रा स्वास्थ्यकर्मी साथीहरु पनि संक्रमित हुनुभयो भने अप्ठ्यारो स्थिति सृजना हुनसक्छ । यद्यपि आजका दिनसम्म हामीले व्यवस्थापन गरिरहेका छौँ ।

कोरोना विरुद्धको खोप कार्यक्रमलाई सरकारले प्रभावकारी रुपमा सञ्चालन गरिरहँदा यता खोप लगाउनेको भीड अन्यको तुलनामा टेकु अस्पतालमै बढी देखिएको छ भने यसबाट संक्रमणको भय पनि उत्तिकै देखिएको छ । यसतर्फ टेकु अस्पतालले कस्तो पहली कदम चालेको छ ?

अस्पताल भनेको उपचार केन्द्र हो । तर, टेकु अस्पतालको हकमा भन्नुपर्दा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै हामीलाई नियमित खोप सञ्चालन गर्नु भनेर निर्देशन दिएको अवस्था छ । सोही निर्देशन अनुरुप नै हामीले गत मंसिर १९ गतेदेखि नै नियमित खोप सञ्चालन गरिराखेका छौँ । र, यसरी नियमित खोप सञ्चालनको मुख्य उद्देश्य भनेकै बेला–बेलामा हुने खोप वितरणका कारण हुने अत्याधिक भीडभाडको न्यूनीकरण गर्नु हो ।

त्यसअन्तर्गत हामीले दैनिक ५०० देखि ७०० सम्म सर्वसाधारणलाई खोप वितरण गरिरहको थियौँ । तर, पछिल्लो समय सरकारले सार्वजनिक सेवाका लागि खोपकार्डलाई अनिवार्य गरेसंगै खोप लगाउने संख्यामा समेत वृद्धि आएको छ । जसकारण खोप लगाउनेको संख्यामा झण्डै पाँच गुणाले वृद्धि भएको पाइएको छ । यसअर्थमा भन्नुपर्दा विगतका दिनहरुसम्म दैनिक ५ सयदेखि ७ सयसम्म लगाइरहेको खोप लगाउनेको संख्यामा वृद्धि भई हाल पछिल्लो दुई हप्तादेखि त्यसको रेसियो दैनिक ३ हजारदेखि ३५ सयसम्म पुगेको छ ।

उसो त नियमित खोप पाउने भएकाले पनि टेकु अस्पतालमै खोप लगाउको संख्यामा वृद्धि हुने भइहाल्यो, संगै सहज रुपमा खोप पाउने र निश्चित खोप संख्या नतोकिएकाले पनि यहाँ खोप लगाउन आउनेको संख्या अन्य खोपकेन्द्रको तुलनामा उल्लेख्य रहेको देखिएको छ । अन्यथा नेपाली सेना अस्पताललगायत अन्य अस्पतालहरुमा हेर्ने हो भने दैनिक ६ सय खोप मात्रै वितरण गर्ने कोटा तोकेको छ ।

यद्यपि शुक्रराज ट्रोपिकलको हाकमा भने त्यो नभएको कारण पनि यहाँ खोप लगाउन आउनेको संख्या अन्यको तुलनामा बढी छ । यस्तै, बाहिर जानेको लागि आवश्यक जोन्सन एण्ड जोन्सन खोप पनि टेकु अस्पतालले मात्रै वितरण गरिरहेकाले पनि यहाँ खोपको लागि भीडभाड हुने गरेको पाइएको छ । यसैगरी, कतिपयलाई थाहा नहुन सक्छ, हामीले शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै खोप लगाउनेको संख्या अत्याधिक भएकै कारण यसै अस्पतालको नेतृत्वमा बिहिवारदेखि कीर्तिपुर आयुर्वेद अस्पतालबाट पनि खोप वितरणको अभियान थालेका छौँ ।

केही दिन पहिले टेकु अस्पतालमा खोप सकियो भनेर सर्वसाधारणले विरोध पनि गरेका थिए । खासमा भएको के थियो?

खासमा खोप पाएन भनेर विरोध गर्नेहरु पहिलेदेखि नै लाइनमा बस्नु भएको थिएन । उहाँहरु अन्य अस्पतालमा नै खोपका लागि लाइनमा बस्नुभएर त्यहाँ कोटा सिस्टमका कारण खोप नपाएपछि यहाँ आउनु भएको रहेछ ।

उक्त दिनमा हामीले ३ हजार जति खोप वितरण गरिसकेका थियौँ । जसकारण सो दिनमा लगाउनपर्ने खोपको मौज्दात सकिसकेको थियो र उहाँहरुले त्यसै झोकमा खोप पाइएन भनेर विरोध गर्नुभएको रहेछ । अन्यथा हामीले हरेक दिन लाइन बस्ने जतिलाई खोप लगाएरै पठाएका छौँ ।

पछिल्लो समय आइशोलेसनको अवधि घट्दै गइरहेको छ । यस्तो किन गर्नको कारण के हो ?

तुलनात्मक रुपमा यसअघि देखिएका डेल्टा भेरियन्ट भाइरस ओमिक्रोन भन्दा कम संक्रामक भएपनि त्यसले धेरैलाई गाहृो पार्ने देखिएको थियो । तर, हालसम्मको अध्ययनले भने पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट भने धेरै संक्रामक भएपनि कम घातक रहेको देखिएको छ । यस्तै, बिरामीहरु जति पनि भर्ना हुनुभएको छ उहाँहरुमध्ये धेरैलाई अक्सिजन एवम् आईसियुको अवश्यक नपर्ने देखिएको छ भने धेरैजसो अहिले संक्रमितले खोप समेत लगाइसकेको भएर यसले खासै असर नगरेको हुनसक्छ ।

घरमै आइशोलसनमा बसेकाहरुको हकमा पनि उहाँहरुलाई खासै गाहृो भएको पाइएको छैन । उहाँहरुमा लक्षण पनि फ्लु सिजनमा देखिने घाँटी दुख्ने र नाकबाट पानी बगिरहनेमै सिमित छन् । र, यसरी बिरामीलाई गाहृो नभएको र छिटै रिकभर हुने भएकाले पनि लामो समयसम्म आइशोलेसन बस्नुको औचित्य नभएका कारण आइशोलेसन अवधि घटाइएको हो ।

यहाँको विचारमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुनुको मुख्य कारण के हुनसक्छ ?

जब ओमिक्रोन भाइरसको आगमनसंगै यो अन्यको तुलनामा धेरै संक्रामक भएपनि कम घातक छ भनेर विभिन्न अध्ययनहरु देखाई रहँदा यसै कारण व्यक्तिहरुले आजको दिनमा विशेषगरी यसलाई गम्भीर रुपमा नलिनु भएकाले र स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्नेको संख्यामा समेत वृद्धि भएको देखिन्छ । यस्तै, खोप लगाइसकेका कारण पनि व्यक्तिहरु आफुलाई कोरोनाले असर गर्दै भन्ने भ्रममा बसिरहेको देखिन्छ । अन्ततः त्यसैको परिणामस्वरुपः देखिएको नतिजा भनेकै आजको दिनमा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै यसले उच्च पिक लिनु हो ।

तर, आम सर्वसाधारणले के बुझ्नपर्छ भने, खोप कोरोना विरुद्धको औषधि होइन । यसले व्यक्तिमा प्रतिरोध क्षमताको वृद्धि गर्ने मात्रै हो र , खोप लगाएका वा नलगाएका सबैको हकमा एक पटक कोरोना संक्रमित भइसकेपछि यसले व्यक्तिलाई भित्री रुपमा असर पुर्‍याउँछ । र, एकपटक कोरोना संक्रमित भइसकेपछि यसले जीवनको कुनै न कुनै कालखण्डमा विभिन्न स्वास्थ्य समस्याको रुपमा सताउने सम्भावना रहन्छ, भने यसले व्यक्तिको भित्री रोगलाई समेत बढावा दिन्छ ।

तसर्थ हामीले जतिसक्दो स्वास्थ्य मापदण्डको पालना गर्दै आफुलाई संक्रमण हुनबाट जोगाउनु नै बुद्धिमानी रहन्छ ।

अन्त्यमा ओमिक्रोनबाट बच्न सर्वसाधारणले अपनाउनु पर्ने र ध्यान दिनैपर्ने पक्षहरु के–के हुन्?

सरकारले कोरोना जोखिम न्युनिकरणका लागि राष्ट्रिय रुपमा खोप अभियान बढाइरहेको हकमा खोपले कोरोनाबाट पर्नसक्ने क्षतिलाई न्युनिकरण गर्छ । र, हालका लागि कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै खोप लगाउन हो भने, अर्कातर्फ सामाजिक दूरी कायम राख्ने, मास्कको अनिवार्य प्रयोग, भीडभाड कम गर्ने तथा बारम्बार हात धुनेजस्ता सरकारले निर्धारण गरेका नियमहरु लाई कडाईका साथ अनुशरण गर्नु नै कोरोनाको ओमिक्रोन मात्रै नभई जुनसुकै भेरियन्टबाट बच्ने गतिलो उपाय हुन् ।