कुनै पनि ब्यक्ति स्वस्थ्य हुनको निम्ति सर्वप्रथम उसको बाल्यकालको जीवनशैली पनि स्वस्थ्य हुनु नितान्त आवश्यक हुन्छ । यदि उसको बाल्यअवस्था नै अस्वस्थ्यकर भएको अवस्थामा सोही समस्याले उनीहरुलाई दिर्घकालीन अवस्थासम्म सताइरहने हुन्छ । तसर्थ आफ्ना बालबालिका भविष्यमा समेत निरोगी रहिरहोस्, भन्नका लागि हामीले उनीहरुको खानपिन तथा स्याहार सुसारमा उचित ध्यान दिनुपर्दछ ।


ADVERTISEMENT


बालबालिकाको उमेरलाई संवेदनशील उमेर पनि मानिन्छ । वयस्कहरुको तुलनामा उनीहरुलाई कुनै पनि रोगल छिट्टै नै समाती हाल्ने हुन्छ ।  विशेषगरी हाल जाडोयामसंगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै भएकाले हामीले यस समयमा बालबालिकाको हेरचाहमा कुनैपनि किसिमको सम्झौता नगर्नु नै उचित रहन्छ । । तसर्थ उक्त संवेदनशीलतालार्ई मध्यनजर गर्दै हामीले यस समयमा उनीहरुको स्याहारसुसारमा अझ विशेष ध्यान दिनुपर्दछ :


ADVERTISEMENT

# # #


जाडोमा बालबालिकामा देखा पर्न सक्ने समस्याहरु :

-रुघाखोकी
-ज्वरो
-घ्यार घ्यार हुने
-हाल गोडा फुट्ने
-र, टाउको दुख्ने समस्या

जाडोयाममा देखिने समस्याबाट यसरी टाढा राखौँ बालबालिकालाई

बालबालिकाहरु कुनैपनि कामको निम्ति सदैव आफ्ना अभिभावकहरुप्रति आश्रित रहने गर्दछ । तसर्थ हामीले उनीहरुको स्वास्थ्यको उचित ख्याल राख्नुपर्दछ । अझ जाडो महिनामा उनीहरुलाई विशेष स्याहार सुसारको आवश्यकता पर्ने हुदा यस समयमा उनीहरुलाई हाम्रो अझ धेरै स्याहार सुसारको आवश्यकता पर्दछ ।

बालबालिकामा चिसोको मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्याहरु देखा नपरोस् भन्नका निमित्त हामीले उनीहरुले लगाउने कपडादेखि खाने खानाहरुमा समेत विशेष ध्यान दिन आवश्यक पर्दछ । यसको निमित्त शरीर न्यायो भइराखोस् भन्नको निमित्त उनीहरुलाई तातो खानाहरु मात्र खान दिनु पर्दछ । यस्तै घ्यु, चाकु तथा तीलले शरीरमा ऊर्जा प्रदान गर्ने भएकोले आफ्ना बालबालिकाको खानामा यस्ता आहाराहरु को समावेश अनिवार्य रुपमा गराउनु पर्दछ । र, बालबालिकालाई चियाभन्दा पनि विशेष रुपमा तातो पानी र बेसार, अदुवा, ज्वानो मिश्रित सुप खुवाउनु पर्दछ । यस्तै, बालबालिकालाई आवश्यक भिटामिन डि घामबाटै मिल्ने भएकोले साना बालबालिकालार्ई घाममा राखेर तेल लगाइदिने र खेल्न दिने गर्नुपर्दछ ।

केही अभिभावकले आफ्नो बालबालिकालाई चिसो नहोस् भन्नको निमित्त आवश्यक भन्दा बढी कपडा शरीर नै गुम्सिने गरी लगाइदिने गरेको पनि देखिन्छ । तर, शरीरलाई तातो बनाउने नाममा ज्यान नै गुम्सिने गरी कपडा लगाइदिनु पर्छ, भन्ने मान्यता विल्कुल गलत हो । यसले गर्दा शरीरमा पसिना आई झन् विभिन्न रोगको संक्रमण हुन सक्ने सम्भावना प्रबल रहन्छ । तर, भोटो लगाउदा यसले बालबालिकाको छातीमा विशेषगरी सिधै हावा पस्न रोक्ने भएकोले यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन एकदमै उपयुक्त मानिन्छ ।

आफ्ना बालबालिकामा घ्यार घ्यार हुने तथा ज्वरो आउने जस्ता समस्या देखा परेको खण्डमा कतिपय अभिभावकहरु डराई तुरुन्त आफ्ना बालबालिकालाई एन्टिबायोटिक औषधि समेत खुवाइ हाल्ने गर्छन् । तर, यसो गर्नुहुदैन । यसले गर्दा उनीहरुलाई पछि गएर विभिन्न किसिमका समस्याहरु समेत देखा पर्न सक्ने भएकोले हामीले सकेसम्म उनीहरुलाई चिसो नलागोस् भन्नका निमित्त विशेष गरी उनीहरुको टाउको र खुट्टालाई न्यायो बनाई राख्नुपर्दछ । यस्तै रुघाखोकी लागेको समयमा बालबालिकालार्ई मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकोले उक्त घरेलु औषधिको पनि प्रयोग गर्न सकिन्छ ।

तर, यदि बालबालिकामा कुनै पनि समस्या लगातार रुपमा देखा परेको छ भने त्यस्तो अवस्थामा पनि कुनै पनि औषधिको सेवन गराउनु पुर्व सम्बन्धित चिकित्सकसंग परामर्श लिनु पर्दछ ।