काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपतिले भनेकी छन्, ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’


ADVERTISEMENT

# # #


नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, ‘नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।’