कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका कुले विकले महाकाली नदीको बगरमा बालुवा चाल्दै आएको दुई दशक बितेको छ । दश वर्षको उमेर छँदादेखि नै अभिभावकसँगै बालुवा चालेर बिक्री गरेर आएको पैसाले घर खर्च चलाउँदै आएका उनी पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न निकै हौसिएका छन् ।


ADVERTISEMENT


महाकाली नदीको बाढीले घरबारविहीन बनाइएका परिवारको पुनः स्थापन गर्ने उम्मेदवारलाई उनले मतदान गर्ने सोच बनाएका छन् बालुवा चालेर जीविका धान्दै आए पनि कसैले अहिलेसम्म हाम्रा पीडा बारे बुझेका छैनन् उनले भने, “घरबासका लागि जग्गा, रोजगारीको उचित व्यवस्था र स्वास्थ्योपचारको व्यवस्था गर्न उत्सुक देखिएका उम्मेदवारलाई मतदान गर्छु ।”


ADVERTISEMENT

# # #


आधा उमेर नदीको बगरमै बित्यो, आर्थिक अवस्था कमजोर हुँदा बगरको बालुवालाई कमाउने साधन बनाउनु प¥यो उनले भने, “हामीले त दुःख काट्यौँ, काट्यौँ, पछिका सन्ततीले दुःख काट्न नपरोस् भन्ने सोचेका थियौँ तर घरको चुलो नै नबल्ने भएपछि आफूसँग बालुवा चाल्ने काममा लगाउनु परेको छ ।” विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा चाल्न लगाउने कार्य रहर नभएर बाध्यता हो उनीसँगै नदीकै बगरमा बालुवा चाल्दै आएकी पुनम सुनारले भनिन्, “घरको आर्थिक अवस्थाले बालुवा चाल्न बाध्य बनाएको छ ।”

“व्यवसाय गर्नका लागि पैसा छैन जसले बालुवा चाल्नेहरुको समस्या समाधान गर्ने योजनासहित मत माग्न आउँछ उसैलाई हाम्रो भोट जान्छ”, उनले भनिन् । “नदीमा बाढी आएका बेला पीडामा मलम लगाउन धेरै आउने गरे पनि नदी नियन्त्रण गर्न र घरबासविहीन भएका परिवारको सोधीखोजी गर्न र पुनः स्थापनका कार्यअगाडि बढाउन कोही आउँदैनन् ।” उनले भनिन् ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने साठी जना परिवार हिउँदमा नदीकै बगरमा झुपडी बनाई बस्दै आएका छन् । बर्सात शुरु हुनुअगावै सबैजना नदीको बाढी नलाग्ने ठाउँमा झुपडी बनाई बस्ने गरेका छन् । बालुवा चालेर रु ५०० देखि रु एक हजारसम्म एक परिवारले कमाउने गर्दछन् । बालुवा बिक्री नभएका बेला कति दिन भोकै बस्नु परेको पीडा धेरैको छ ।