काठमाडौं –  ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


विभागले अभियुक्त ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल र सान्तु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश छलेको भन्दै उच्च अदालत पाटनमा पाँच जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


विभागले आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठलाई समेत विपक्षी बनाएको छ।उनीहरुले १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व छली गरेको आरोपमा विभागले मुद्दा हालेको हो । उनीहरुसँग छली गरेको राजस्व रकम बराबरकै बिगो असुल र ३ वर्ष जेल सजायको समेत माग गर्दै अदालतमा विभागले मुद्दा दर्ता गरेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा मुख्य अभियुक्त शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशमा हाल थुनामा छन्  ।

उक्त कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर नतिरी राजश्व छलेको विभागद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। उक्त फर्ममा राजस्व चुहावटमा सहयोग गरेकोले ऐनको साविक दफा २३ को उपदफा २ तथा पहिलो संशोधन समेत दफा २३ को उपदफा १को देहाय घ बमोजिम हुने सजायमा दफा २३ उपदफा ३ बमोजिम प्रतिवादी राजेश्वार एण्ड कम्पनीका प्रोपाइटर लेखापरीक्षक राजेश्वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी जम्मा १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।