काठमाडौं – आगामी माघ १२ गते हुने राष्ट्रियसभाका निर्वाचनका लागि ४३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।


ADVERTISEMENT


१९ सिटका लागि हुने निर्वाचनका लागि उमेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रुपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका थिए।


ADVERTISEMENT

# # #


प्रदेश १ मा राष्ट्रियसभा सदस्यको ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ मा २ राष्ट्रियसभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशतर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए ।

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलका तर्फबाट ३ जना र नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट र नेकपा एमालेका तर्फबाट तीन तीन जनाले उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । मतदान माघ १२ गते हुनेछ ।