काठमाडौँ – सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताएका हुन् ।


ADVERTISEMENT


गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको भन्दै यस बर्ष समान रुपमा सबै प्रकारको उखुको बिक्रि मूल्य बढाइने उनले बताए । उनले धेरै उत्पादन गर्ने र थोरै उत्पादन गर्ने किसानले समान मूल्य पाउने भएपनि लागत बढ्दा किसान मारमा परेको देखिएको उल्लेख गरे


ADVERTISEMENT

# # #


नेपाल भन्दा भारतमा उखुको मूल्य सस्तो भएको र भारतले तीन प्रकारले किसानले उखुको मूल्य पाउने व्यवस्था रहेको जानकारी उनले दिए । सचिव शर्माले कानुन आयोगबाट पास भएर कृषि विधेयक अघि बढेको र त्यसपछि किसान मैत्री कानून आउने जानकारी दिए ।

त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले ५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । किसानको वक्तौता भुक्तान नगर्ने लुम्बिनी, इन्दिरा, अन्नपूर्ण, हिमालय, श्रीराम मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि पत्राचार भइसकेको उनले बताए ।

बैठकमा सांसदहरुले उखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । सांसद अमनलाल मोदीले सरकारले नै किसानलाई भुक्तानी गरेर उद्योगबाट सरकारले असुल गर्नुपर्ने बताए । अब पनि किसानले भुक्तानी नपाए आफै असनस बस्ने उनले बताए । त्यस्तै सांसद राजन केसीले उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै ऐन बनाउनुपर्ने धारणा राखे ।

बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधिहरुले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भएपनि निर्णयमा भने पुग्न नसकिएको बताएका थिए ।