नवलपरासी – वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा रोकिएको राजमार्ग दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित जङ्गलमा वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानबाट अवरुद्ध राजमार्ग बिहीबार साँझबाट पूर्णरूपमा सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


नारायणगढ–बुटवल सडक चार लेनमा विस्तार गर्ने क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको डाइभर्सनमा क्षति पुग्दा यातायात अवरुद्ध भएको थियो । डाइभर्सन बुधबार नै मर्मत गरिएको भए पनि हिलोका कारण सवारी वारपार हुन नसकेपछि समस्या भएको थियो ।


ADVERTISEMENT

# # #


बिहीबार बिहानबाट नवलपुर क्षेत्रमा पानी पर्न रोकिएर घाम लागेसँगै मर्मतपश्चात साँझदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए । राजमार्ग सहज भएसँगै बुधबार बिहानबाट रोकिएका ठूला सवारी तथा मालवाहक गाडी आफ्नो गन्तव्यतर्फ छुटेका छन् । साना सवारी भने मुख्य राजमार्ग अवरुद्ध भए पछि कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरेका थिए ।

राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारणले गएको वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । पुल तथा निर्माण भइरहेका कल्भर्ट छिटो निर्माण नगर्दा समस्या कायम रहेको छ । राजमार्ग विस्तारका क्रममा जिल्लाका विभिन्न स्थानमा पुल तथा कल्भर्ट निर्माण भइरहेका छन् । ती निर्माणस्थलमा डाइभर्सन बनाइएका छन् । तर सामान्य पानी पर्नेबित्तिकै डाइभर्सन बगाउने, भत्काउने हुँदा यातायात बेलाबेलामा अवरुद्ध हुँदै आएको छ । यसले गर्दा यस खण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकले पटक–पटक सास्ती खेप्दै आएका छन् ।