काठमाडौं – नेकपा माओवादी केन्द्रको राजधानीमा जारी महाधिवेशनले पार्टीको अध्यक्षसहित केन्द्रीय समितिमात्रै चुन्ने भएको छ।


ADVERTISEMENT


महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफलपछि अहिले समूहको सुझाव प्रस्तुत भइरहेको छ। बुधबारसम्म १४ वटा समूहको सुझाव प्रस्तुत भइसकेको छ। बिहीबार बाँकी ११ वटा समूहको सुझाव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।


ADVERTISEMENT

# # #


सबै समूहको सुझाव प्रस्तुतीकरणपछि अध्यक्ष प्रचण्डले समूहको प्रस्तुतिको जवाफ दिँदै आफ्नो प्रतिवेदनबारे थप प्रस्ट पार्ने माओवादी केन्द्रीय सदस्य दिलीपकुमार प्रजापति भीष्मले जानकारी दिए।

उनका अनुसार अध्यक्ष प्रचण्डले महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतमात्रै गरेका छन् । प्रचण्डले त्यसबारे स्पष्ट गर्ने तथा त्यसको अन्तरवस्तुको व्याख्या विश्लेषण गर्न पाएका छैनन् । त्यसैले आज समूहगत प्रस्तुति सकिएपछि प्रचण्डले एकमुस्ट समूहगत प्रस्तुतिको जवाफ दिने र आफ्नो प्रतिवेदनबारे प्रस्ट पार्ने नेता प्रजापतिले बताए ।

उनका अनुसार आजै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्ने तयारी छ। त्यसपछि स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको संशोधित विधान पारित गरिने कार्यसूची रहेको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै संशोधित विधानबारे छलफल भइरहेको छ। संशोधिन विधानमा केही थप संशोधन परेको छ। उक्त संशोधनसहित विधानसमेत आजै पारित गर्ने तयारी रहेको छ।

माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ। अहिलेसम्म अध्यक्षमा कसैले दावी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाबसमेत बढाउँदै आएका छन्।

केन्द्रीय सदस्य प्रजापतिले महाधिवेशनबाट अध्यक्ष प्रचण्डसहित केन्द्रीय समितिमात्रै चयन गरिने बताए। महाधिवेशनबाट चुनेको केन्द्रीय समितिले मात्रै बाँकी पदाधिकारी टुंग्याउने उनले सुनाए। ‘महाधिवेशनले अध्यक्षसहित केन्द्रीय सदस्यहरुमात्रै चुन्नेछ’, नेता भीष्मले भने, ‘महाधिवेशनमाट चुनिएको केन्द्रीय समितिले बाँकी पदाधिकारीहरु टुंग्याउने छ।’

महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको हो।

कम्युनिष्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा चल्ने भएकाले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यबाहेक अन्य पदाधिकारी निर्वाचित नगर्ने केन्द्रीय सदस्य प्रजापतिले बताए। उनले कांग्रेस र एमालेमा जस्तो माओवादी केन्द्रमा पदाधिकारीहरु महाधिवेशनबाट निर्वाचित नहुने प्रतिक्रिया दिए।

‘महाधिवेशनबाट पदाधिकारी निर्वाचित भएका व्यक्तिलाई भोलि कुनै कारण केन्द्रीय समितिले कारबाही गर्न सक्दैन। कारबाहीको लागि अर्को महाधिवेशनसम्म कुर्नुपर्ने हुन्छ’, उनले भने, ‘तर केन्द्रीय समितिबाट जिम्मेवारी दिइएका पदाधिकारीलाई केन्द्रीय समितिले नै सीधै कारबाही गर्नसक्छ। अर्को महाधिवेशन कुर्नुपर्दैन। फेरि कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको आधारमा चुनिएको नेतालाई जिम्मेवारी दिइन्छ।’