ललितपुर – लगानी र कारोबारका विषयलाई लिएर विवादमा मुछिएको प्रतिभा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबारे चर्चा चुलिएको छ । ललितपुर थसिखेलमा रहेको सहकारी संस्थाले गर्ने लगानी र कारोबारमा अपारदर्शिता देखिएको भन्दै सूचनाहरु बाहिर आएको हो ।


ADVERTISEMENT


प्रतिभा बहुउदेश्यीय सहकारीले गरेको लगानीमा अपारदर्शिताको आरोप लागेको विषय हो-‘बहुआयामिक परियोजनामा लगानी’को शीर्षक । सहकारीले उक्त शीर्षक अन्तर्गत १८ करोड रकम लगानी गरेको छ ।


ADVERTISEMENT

# # #


पूँजी भन्दा बढी रकम अपारदर्शी रुपमा लगानी गर्न नपाउने कानुनी प्रावधान छ । शेयर सदस्यहरुको ९ करोड र जगेडा कोषमा रहेको ३ करोड गरेर संस्थाको कूल पुँजी १२ रहेको छ । १२ करोड पूँजी भएको संस्थाले १८ करोड सम्म लगानी गरेको बहुआयामिक परियोजना के हो ? किन परियोजनाका नाममा सहकारीले जोडबल गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।

उक्त रकमबाट संस्थाले जग्गा किनेको सहकारीका अध्यक्ष माधवप्रसाद तिमल्सिना बताउँछन् । पूँजी भन्दा बढी लगानी गर्न नमिल्ने स्वीकार गर्दै आफूहरुले भने परियोजना नै किटान गरेर काम गर्न खोजेको उनको भनाई छ ।

“बहुआयामिक परियोजनाका लागि जमिन खरिद गरिएको हो, हामीले परियोजना नै सञ्चालन गर्ने भन्ने हिसाबले पैसा त्यता खर्च गरेका हौं ।” अध्यक्ष तिमल्सिनाले हिमालय पोष्टसँग भने “पूँजी भन्दा बढी यसरी लगानी गर्न नपाईने कुरा सही हो तर परियोजना किटान गरेर लगानी गर्न पाईन्छ ।” १८ करोड रकम लगानी गरेको जग्गामा परियोजना नै सञ्चालन गर्ने तिमल्सिनाको भनाई छ ।

१० वर्षदेखि सञ्चालन गरिरहेको कृषि फर्मलाई आफ्नै जग्गामा सार्न सो रकम लगानी गरिएको उनको स्पष्टीकरण छ ।

सहकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको लोन करिब २४ करोड रहेको छ । लघुबित्त लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्न धितो राखेर सो ऋण लिईएको तिमल्सिना दाबी गर्छन ।

३ अर्ब हाराहारी कारोबार बताईएको संस्थाको ब्यालेन्स सिट १ अर्ब रहेको छ ।