म्याग्दी – म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् ।


ADVERTISEMENT


पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । यसवर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा कीरा लागेको त्यहाँका किसानले बताएका छन् । त्यसैगरी गएको वर्ष पनि बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा कीरा लागेको थियो ।

गएको वर्ष औँसा कीराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ । सुन्तलामा औँसा कीरा लागेपछि विस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्नेजस्ता समस्या देखिएको किसानले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिकरूपले गरिएको सुन्तलाखेतीमा औँसा कीराको प्रकोप धेरै देखिएको छ । दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा कीराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले बताए ।

बास्कुनाका किसान तिलक गुरुङले गाउँका ९० घरधुरीका २०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गरेको बताए । उनका अनुसार बास्कुनादेखि बरङ्जा क्षेत्रमा मात्रै २० हजार सुन्तलाका बोट छन् । किसानले बोटबाट नै प्रतिकिलो रू ७० मा सुन्तला बिक्री गरिरहेका उनले जानकारी दिए।

“बोटमा सुन्तला त राम्रैसँग फलेका छन् तर औँसा कीराका कारण दाना पनि त्यति पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको छ । त्यसैले जति आम्दानी हुनुपथ्र्यो त्यति हुदैन की भन्ने चिन्ता थपिएको छ” उनले भने । रासस