काठमाडौँ – युएईमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बंगलादेशबाट नेपालले २९८ रनको विशाल चुनौति पाएको छ ।
युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट स्टेडियममाटस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ बनाएको हो । बंगलादेशका लागि मोहम्मत प्रान्तिक नोरोजले शतक हाने । उनले ११२ बलमा ११ चौका र १ छक्काको मदतमा नटआउट १२७ रनको शानदार पारी खेले ।
यस्तै रिटायर्ड हर्ट हुनुअघि मोहम्मद फाहिमले ५४ बलमा ३ चौका र ३ छक्कासहित ५८ रनको यागदान दिए । एइज मोलाहले २२, इफ्ताखर हुसेन इफ्तीले २१ रन बनाउँदा मोहम्मद मोहफिजुल इस्लाम १७ रनमा आउट भए । यस्तै मेहेरोब हसनले १२ बलमा ३ चौकासहित २१ रनको योगदान दिए ।
नेपालका लागि गुल्सन झा, तिलक राज भण्डारी र मोहमद आदिल अलामले समान १–१ विकेट लिए । नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले पहिलो विकेट समेत गुमाएर ४ ओभरमा १० बनाएको छ । नेपाका ओपनर अर्जुन कुमाल १ चौकासहित ५ रनमा आउट भएका छन् ।
नेपाली प्लेइङ ११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, सन्तोष कार्की, अर्जुन साउँद९विकेट किपर०, विवेक राना मगर, वासिर अहमेद, विवेक यादव, मोहमद आदिल अलाम, गुल्सन झा, दुर्गेश गुप्ता र तिलक राज भण्डारी रहेका छन् ।
८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोली गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ नेपाल, बंगलादेशसँगै श्रीलंका र कुवेत रहेका छन् । यस्तै समूह ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता उपाधीका लागि सेमिफाइनलको यात्रा तय गर्नेछन् ।