रामचन्द्र पाण्डे, काठमाडौँ– मलेसियामा जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा पुग्ने नेपालको सपना अधुरै रहेको छ । दोस्रो सेमिफाइनलअन्तर्गत आज अफगानस्तानसंग भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्‍यो । नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रनमात्र जोड्न सक्यो । नेपालका लागि अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । साहले अर्धशतक बनाए । ५७ बल सामना गरेका उनले एक छक्का र ७ चौकको मद्दतमा ५० रन बनाए ।


ADVERTISEMENT

# # #


अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।

यसैगरी रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा आउट हुँदा साहब आलम ७ रनमा नटआउट रहे ।

अफगानिस्तानका मुजिब उर रहमानले ६ विकेट लिए ।

यता १०४ रनको विजयी लक्ष्य पाएको अफगानस्तान एक विकेटको क्षतीमा १८ ओभरमा ९४ रन बनाएर खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । पानी रोकिएपछि अफगानस्तानले  २०.३ ओभरमा ३ विकेटको क्षतिमा १०८ रन बनाएर लक्ष्य पूरा गर्यो ।

अफगानस्तानका लागि ओपनर जोडीका रुपमा मैदान छिरेका रमानुल्लाह गुर्वाजले इब्रहिम जार्डनले २४ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा नेपालेले जार्डन लाई पेवेलियन फर्कायो । १२ बलको सामना गरेका उनले ३ रन बनाए ।

इक्रम अलीले गुर्वाजसंग ७७ बलमा ७० रनको साझेदारी गरेपछि अफगानस्तानले लक्ष्य सजिलै भेटाउने अवस्था आयो । १८ रन बनाएका उनी पवन सर्राफको बलमा अनिल कुमार शाहको हातबाट क्याच आउट भए । आक्रामक ब्याटिङ गरेका गर्वाजले ७१ रन बनाएर पेवेलियन फिर्किए । ६५ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दर्विस अब्दुल रशूलले विजयी छक्का प्रहार गर्दै टोलिलाई फाइनल पुर्याए । ६ बलको सामना गरेका उनले २ छक्का प्रहार गर्दै १२ रन जोडेर नट आउट रहे । नट आउट रहेका निसारुल हक वाहदातले ५ बल सामना गरेर एक रन पनि बनाउन सकेनन् ।

नेपालका लागि ६ ओभर बलिङ गरेका सन्दीप लामिछानेले एक मेडेन ओभर फ्याँक्दै २२ रन खर्चिएर एक विकेट लिए । यस्तै ७ ओभर बलिङ गरेका कमलसिंह ऐरीले एक मेडेन ओभर फ्याँक्दै २९ रन दिएर एक विकेट लिए ।  पवन सर्राफका नाममा एक विकेट रह्यो । ।

जितसंगै अफगानस्तान फाइनल प्रवेश गरेको छ भने नेपाल प्रतियागिताबाट बाहिरिएको छ । अफगानस्तानले अब उपाधीका लागि पाकिस्तानको सामना गर्नेछ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा २ रनले हराएर पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो ।

२०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो ।

नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनलमा खेलेका थिए । यस अघिका खेलमा नेपालले बंगलादेशसंग पराजित भएको थियो भने भारतलाई इतिहासमै पहिलो पटक पराजित गरेपछि सेमिफाइनलको यात्रालाई जीवित पारेको थियो ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उता नेपालसंग पराजित भएको भारत समूह चरणबाटै बाहिरिएको थियो ।