खलङ्गा– बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् ।


ADVERTISEMENT


बालविवाहसम्बन्धी सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघिबढ्ने प्रतिबद्धता जनाएका हुन्।


ADVERTISEMENT

# # #


हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताए । उनले भन्नुभयो,’गाउँमा बालविवाह लुकिछिपी भइरहेका छन् । सो तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ । यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ । शिक्षक, कर्मचारी, जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ । उनीहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष रोकायाले बताए ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै ‘विहेबारी २० वर्षपारी’ भन्ने कार्यक्रम अघि बढाइसकेको छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रुपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए ।

प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजूरी अहिलेसम्म नपरेको जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ मा दुई बालविवाहका उजूरी परेका थिए । त्यो भन्दा पछिल्लो समयमा उजूरी नपरेका जिल्ला प्रहरी कार्यालय जनाएको छ । बालविवाहविरुद्ध जिल्लाभर अभियान सञ्चालन गर्नुपर्ने सामाजिक विकास कार्यालयका प्रमुख तुलरज चौलागाईले बताए ।

बालविवाहलाई सरकारले कुरीतिका रुपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाहसम्बन्धी सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । रासस