सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ । निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो । उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्रचौकमा झुण्ड्याइएका उम्मेदवारका तस्बीरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।


ADVERTISEMENT


त्यस्तै, राजविराजका विभिन्न ठाउँमा लगाएको पोस्टर, पम्प्लेट र चुनाव चिह्न अंकित सामग्रीसमेत बरामद गरिएको प्रजिअ पाण्डेयले बताए । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले कारबाहीस्वरुप जिल्लाका सार्वजनिकस्थल, मठमन्दिर, विद्यालय, सरकारी कार्यालय तथा विद्युतीय पोलमा उम्मेदवारले लगाएका पर्चा–पोस्टरसमेत हटाइएको प्रजिअ पाण्डेयले जानकारी दिए।


ADVERTISEMENT

# # #


उम्मेदवार तथा दलका नेताहरुलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि कारबाहीस्वरुप पर्चा–पोस्टर बरामद गरिएको उनले बताए ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले सप्तरीमा उम्मेदवार र राजनीतिक दलले व्यापकरुपमा आचारसंहिता विपरीत कार्य गरेको पाएकाले कारबाही गर्न आफू पनि बाध्य भएको बताए । सप्तरीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठ गरी १२ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।