काठमाडौं – प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साँढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।
केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर । कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।
कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् ।
कांग्रेसको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केही केन्द्रीय सदस्यहरुको मतगणना सकिएको छ । केन्द्रीय सदस्य खुला ३५ जनामा १ हजार ७ सय ७ मत ल्याउने अन्तिम ३५ नम्बरमा विजयी भएका छन् । १ हजार ६ सय ५४ मत आउने विजयी हुन सकेनन् । १ सय ८१ मत बदर नभएको भए १ हजार ६ सय ४४ मत ल्याउने केदार कार्कीसम्मको सम्भावना रहने अनुमान गरिन्छ ।
अहिले पनि बाँकी केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उपसभापति पदको निर्वाचनमा कुल खसेको मत र बदर मतको हिसाब नै राखेको छैन । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अन्य पदको बदर मत उल्लेख गरे पनि उपसभापतिको बदर मत उल्लेख गरिएको छैन । उपसभापतिमा धनराज गुरुङले विजयकुमार गच्छदारलाई जम्मा २ मतले पराजित गरेका थिए । बदर नहुने गरी मतदान भएको थियो भने जित्नेले हार्ने र हार्नेले जित्ने सम्भावना रहन सक्छ ।
महामन्त्री पदमा ४३ मत बदर भएको छ भने सहमहामन्त्रीको आदिवासीरजनजाति कोटातर्फ ६५ मत बदर भएको छ । यस्तै, सहमहामन्त्रीको दलित कोटातर्फ ७५ मत बदर भएको छ । दलित कोटामा विजयी हुने जीवन परियारको २ हजार २ सय १२ मत आएको थियो भने उपविजेता मानबहादुर विश्वकर्माको २ हजार १ सय ७५ मत आएको छ । ३८ मतको फरक भएकाले ७५ मत बदर नभएको भए नतिजा उल्टन पनि सक्ने अनुमान गर्न सकिन्छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार सहमहामन्त्री पदमा महिला कोटातर्फ ४७, खसरआर्य कोटातर्फ ५६, मधेसी कोटातर्फ ७५, मुस्लिम कोटातर्फ ४८, पीछडिएको क्षेत्रतर्फ ५१ र थारू कोटातर्फ ५७ मत बदर भएको छ । प्रदेश–२ अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ ४६ र पीछडिएको क्षेत्र खुलातर्फ ३९ मत बदर भएको देखिएको छ । यी दुवै कोटामा एक सिटका लागि दुई–दुई जनाको मात्र प्रतिस्पर्धा थियो । नेपाल समाचारपत्र दैनिकबाट ।