काठमाण्डौं-पाटन औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ लागेको आगलागीमा दुई उद्योगले करिब १४ करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका छन् । आनन्द प्लास्टिक उद्योग र पञ्चकन्या ग्रुपअन्तर्गतको यूपीभीसी प्रोफाइल्स डोर एन्ड विन्डोमा मंगलबार साँझबाट सुरु भएको आगलागी बुधबार बिहान १५ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।


ADVERTISEMENT


ओलागीबाट करिब ७ करोड रुपैयाँबराबरको क्षति भएको यूपीभीसी प्रोफाइल्स डोर एन्ड विन्डो उद्योगका म्यानेजर नाम्गेल जिम्बाले बताए । आगलागीबाट उद्योगमा ६० प्रतिशत क्षति पुगेको उनको भनाइ छ । उद्योगभित्र सञ्चालनमा रहेका १० वटा मेसिनमा क्षति पुगेको उनले जानकारी दिए । अहिले उद्योगभित्र रहेको मेसिन र उत्पादन भएका सामानदेखि कच्चा सामानको जाँचसमेत भइरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


आगलागी सुरु भएपछि आफूहरूले उद्योगभित्र रहेका गाडी, स्कुटी तथा कम्प्युटर र फाइल भने झिक्न सफल भएको जिम्बाले बताए । उद्योगले २०६६ देखि प्लास्टिकका झ्यालढोका उत्पादन गर्दै आएको थियो । उद्योगमा २० जना कामदारले रोजगारी गर्दै आएका थिए । ओलागीमा परेको आनन्द उद्योगका सञ्चालक आनन्द साहले पनि सात करोड रुपैयाँबराबरकै क्षति भएको जानकारी दिए । उद्योगमा ७५ प्रतिशतभन्दा बढी क्षति भएको उनको भनाइ छ ।

उद्योगका कतिपय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन् । उत्पादन भएर बजार पठाउन तयारी अवस्थामा रहेको साढे तीन करोड रुपैयाँबराबरको समान पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए । उद्योगले प्लास्टिकका गिलास, प्लेट, चम्चा र दही राख्ने टब्बा उत्पादन गर्दै आएको थियो ।

उद्योगभित्र रहेका अधिकांश मेसिन तथा सामान जलेर नष्ट भएका छन् । तर अहिलेसम्म आगलागीको कारण खुलेको छैन। मंगलबार साँझ सवा ६ बजेबाट उद्योगमा आगलागी भएको थियो। उपत्यकामा रहेका सबै दम्कल प्रयोग गर्दा पनि समयमै आगलागी नियन्त्रण हुन सकेको थिएन।