काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता औँल्याएका हुन् ।


ADVERTISEMENT

# # #


महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुनेमा उनले विश्वास व्यक्त गरे । विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ ।

दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘ओरेन्ज द वल्ड : इन्ड भ्वाइलेन्स अगेन्स वुमेन नाउ ‘ रहेको छ । राष्ट्रिय नारा ‘घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।