काठमाडौं – नेकपा (एमाले)का नयाँ पुस्ताका युवाहरु पनि भोटिङ नगरी सर्वसम्मत नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका छन् । एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । नेकपा विघटन र माधव नेपाल समूहको विभाजनपछि हुन लागेको एमालेको महाधिवेशन रोचक हुँदैछ ।  महाधिवेशनलाई लिएर युवा नेताहरू विभिन्न  प्रतिक्रिया दिँदै आएका छन् ।


ADVERTISEMENT


पहिले सर्वसम्मत खोजौं, नमिले निर्वाचन : विष्णु रिजाल


ADVERTISEMENT

# # #


पार्टीलाई जझारु एकतावद्ध संस्थाको रुपमा विकास गर्नुपर्छ भन्ने सबैको चाहाना छ । सबैको सहभागितामा नेतृत्व निर्माण नै त्यसको आधार हो । सकभर सर्वसम्मतको विधिबाट नेतृत्व चयनमा पुग्नुपर्छ, त्यो सम्भव भएन भने निर्वाचनको स्थापित मान्यता छँदैछ ।

एमालेमा सर्वसम्मत र निर्वाचन निषेध छैन । सहमति हुने ठाउँसम्म सहमतिका साथ नभए निर्वाचनको प्रक्रियामा सहमति भएर अघि बढ्ने हो । यसलाई सबै नेता तथा कार्यकर्ताले सहज रुपमा लिएर हामी आफ्नो कार्यक्षेत्रमा फर्किनु पर्छ । आठौं महाधिवेशनदेखि आधारभूत तहको अभ्यासमा छौं । नीति, विधि र विधान, संगठनात्मक विषय विधान महाधिवेशनबाट टुंग्याइसकेका छौं । विधान र राष्ट्रिय महाधिवेशनमा अनुभव हुनेछ ।

म २०७५ जेठ ३ मा भएको एकतासंगै केन्द्रीय सदस्यमा आएको हुँ । यसपटक फेरि प्रतिनिधिहरूबाट केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएर आउन चाहान्छु । एमालेमा अहिले तीन तहको नेतृत्व छ । एउटा ७० वर्ष पुग्न लागेको । दोस्रो ५० वर्षभन्दा माथि र तेस्रो ४० वर्षको हाराहारीमा छौं । अहिले पार्टी कसरी चल्छ । कसरी सञ्चालन हुन्छ । त्यसको संस्कार र सिद्धान्त कस्ता छन् ? संगठनात्मक अभ्यास कस्तो छ ? छलफल कसरी हुन्छन् र आफ्नो तर्फबाट के योगदान हुन्छ भन्ने हो । तीनै पुस्ताबीचको समन्वयको पार्टी बनाउने नै हाम्रो जोड रहनेछ । आजको परिवर्तनको एजेण्डा र युवा आकांक्षालाई पार्टीमा लैजाने भूमिका हुन्छ ।

मर्यादित र स्वास्थ्य खालको प्रतिस्पर्धा गर्छौं : विशाल भट्टराई

राष्ट्रिय महाधिवशेनको अपेक्षा भनेको सुदृढ र सवल नेतृत्वको निर्माण नै हो । हामीले ठूलो जनसभा गर्छौं र नेतृत्व निर्माणको काम हुन्छ । नीति र विधि हामीले निर्माण गरिसकेका छौं र अब समृढ र सवल एमाले निर्माण गर्ने एकतावद्ध रुपमा एमाले निर्माण गर्ने हो ।

सकेसम्म सर्वसम्मत नेतृत्वमा निर्माण होस् भन्ने चाहाना हो नभए निर्वाचनको प्रक्रिया छँदैछ । हामीले विगतमा पनि यसलाई सहज रुपमा पनि लिँदैआएका छौं । लोकतान्त्रिक अभ्यास गर्दैआएका हौं । विजयी भएकाले पराजितलाई मिलाएर, संगै लिएर जाने र पराजितहरूले विजयीलाई सघाउने र हलबाट निस्कँदा हार्ने र जित्ने दुवै अंकमाल गरेर हिँडेको एमालेको इतिहास छ ।

हामीले त्यही इतिहासलाई निरन्तरता दिन्छौं । मर्यादित र स्वास्थ्य खालको प्रतिस्पर्धा गर्छौं । मैले अहिलेसम्म मेरो यही पदमा उम्मेदवारी भनेर निर्णय गरेको छैन । नेतृत्व, आफ्नो साथी सहकर्मी, सहयोद्धासंगको छलफल र बहसपछि टुंगोमा पुग्छु । व्यक्तिगत रुपमा मेरो यो पद हो भनेर पुँजीवादी राजनीतिक पार्टीभित्र जस्तो दाबी गरेको छैन । त्यस प्रकारको घोषणा गर्ने मनसाय पनि छैन । सहकर्मी, सहयोद्धा र पार्टी नेतृत्वको सल्लाह अनुरुप आवश्यक परेको जिम्मेवारी लिन तयार छु ।

सबैको भावना र क्षेत्रको प्रतिनिधित्व झल्किने नेतृत्व हुनुपर्छ : ठाकुर गैरे

नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एमालेलाई सिद्धान्तनिष्ट पार्टी बनाउने र यसको आन्तरिक एकतालाई सुदृढ र मजबुत बनाउने, १०औं महाधिवेशनलाई सहमतिको महाधिवेशनको रुपमा स्थापित गर्नुपर्छ ।

महाधिवेशनपछि नेता तथा कार्यकर्ता सहज रुपमा लिएर आफ्नो कार्यक्षेत्रमा फर्किन वातावरण बनाउनु पर्छ । नेतृत्वको विषयमा व्यापक छलफल हुनुपर्‍यो र सबैको भावना तथा क्षेत्रको प्रतिनिधित्व हुनुपर्‍यो ।

एमालेको नेतृत्वमा सिंगो नेपाल झल्किने नेतृत्व हुनुपर्छ । हामीले देशको आर्थिक राजनीतिक अवस्थाको नयाँ रुपमा परिभाषित गरेका छौं । त्यो व्याख्यालाई आत्मसात गर्ने प्रकृतिको नेतृत्वको अपेक्षा गरेका छौं ।

नेतृत्वको विषयमा छलफल पछि निर्णय हुन्छ । भर्खरै प्रतिनिधिको छनोट भएको छ । आठौं र नवौं महाधिवेशनबाट कन्द्रीय कमिटीमा रहेको छु । म पहिले वैकल्पिक र पछि पूर्ण केन्द्रीय सदस्य भएको हुँ । त्यसैअनुसार बढ्दै जानेछु ।

केन्द्रीय सदस्यमै उम्मेदवारी दिन्छु : ममता गिरी

महाधिवशेनबाट असल नीति र असल नेतृत्व चयन हुन्छ भन्ने मेरो अपेक्षा छ । एमालेको नीति, विधान र विधिअनुसारको चल्नसक्ने कुशल नेतृत्व त्यसैअनुसार राम्रो नीतिको पारित हुनेछ ।

महिलाहरूको हकमा संविधान र पार्टीको विधानले निर्देशित गरे अनुसार पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कम्तीमा एकतिहाइ प्रतिनिधित्व हुनुपर्‍यो भन्ने मेरो अपेक्षा छ ।

यद्यपि यस महाधिवशेनले एकताकै सन्देश दिन्छ भन्ने लाग्छ । एमालेको यति ठूलो महाधिवेशन सम्पन्न हुन लागेको छ यसले मुलुकका लागि सकारात्मक सन्देश दिनका लागि र परिवर्तनलाई स्थायित्व गर्न मद्दत पुग्नेछ ।

आमुल परिवर्तनलाई उन्नतस्तरबाट मुलुकको अग्रगमन र विकासका लागि एमालेले अझ नयाँ ढंगबाट सशक्त रुपमा अघि बढेर महाधिवेशन सम्पन्न गर्नेछ । सर्वसम्मत नेतृत्व चयन गर्नेतर्फ नै पहल हुन्छ । पार्टी विभाजन र विभिन्न परिस्थितिको कारणले सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ । तलबाट पनि सर्वसम्मत नेतृत्व चयन भएकाले महाधिवेशन त्यसै अनुरुप हुन्छ ।

म यसपटक पनि केन्द्रीय सदस्य मै उम्मेदवारी दिन्छु । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदैआएको छु । नवौं जस्तै दसौं राष्ट्रिय महाधिवशेनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनेछु ।

साथीहरूसंग सल्लाह गरेर निर्णय लिनेछु : भगवती चौधरी

दसौं राष्ट्रिय महाधिवशेनले पार्टीभित्र एकताको सन्देश दिन्छ । सबै विषयमा पछिल्लो समयमा सर्वसम्मत हुँदैआएको छ । पदाधिकारीमा केन्द्रीय सदस्यसमेत सर्वसम्मत गर्ने कोसिस छ ।

अहिले प्रदेशस्तरमा पनि सहमति गराउन सकिन्छ कि भनेर छलफल भएको छ । मिलाउने कोसिस भएको छ । अहिलेको अवस्थामा सर्वसम्मत रुपमै नेतृत्व छनोट गर्नुपर्छ । त्यसले आगामी दिनमा एमालेलाई अघि बढाउन सघाउ पुग्नेछ ।

हामी अन्तरसंघर्ष र विभाजनको पीडाबाट अहिलेको अवस्थामा आइपुगेका छौं । त्यसैले एमालेलाई कसरी एकतावद्ध बनाउने भन्ने विषय नै महाधिवेशनको मुख्य विषय हो । सर्वसम्मतका लागि अन्तिम समयसम्म प्रयास गर्नुपर्छ प्रतिस्पर्धाभन्दा सहमतिलाई जोड दिइनुपर्छ ।

म अहिलेसम्म केन्द्रीय सदस्य रहेकी छु। थारु समुदायबाट प्रतिनिधित्व गर्छु । साथीहरूले नेतृत्वलाई समावेशी बनाउने विषयलाई ध्यान दिनुपर्छ र अघि बढ्नु पर्छ भन्नु भएको छ । अहिलेसम्म कसरी अघि बढ्ने भनेर निर्णय गरिसेकेको छैन । सबैसँग छलफल गरेर मात्रै यस विषयमा निर्णय लिनेछु ।

उम्मेदवारी घोषणा गरेको छैन, परामर्शमै छु : रवीन्द्र अधिकारी

महाधिवेशनले एकताको सन्देश प्रवाह गर्नेछ । पार्टीभित्र गुटको अन्त्य र सबै मनोविज्ञानलाई समेटेर आगामी निर्वाचनहरूमा एमालेलाई सर्वश्रेष्ठ पार्टीको रुपमा जनअनुमोदित हुनका लागि त्यसै प्रकारको दुरुस्त नेतृत्व महाधिवशेनले दिनेछ ।

वैचारिक, राजनीतिक र संगठनात्मक विषयलाई विधान महाधिवेशनबाट तय भैसकेका छन् । नेतृत्व निर्माण गर्दा नेपालको सबै खालको चित्र प्रस्तुत हुने हिसाबले यो महाधिवशेनबाट नेतृत्व चयन हुनेछ । सकेसम्म सहमतिको नेतृत्व चयन गरेर एक प्रकार सन्देश दिन कोसिस अवश्य पनि हुनेछ । त्यस प्रकारको परिस्थित निर्माण भएन भने मात्रै निर्वाचनको प्रक्रियाद्वारा नेतृत्व तय हुनेछ ।

एमालेको मजबुत एकता नै अहिलेको आवश्यकता हो । अहिले म केन्द्रीय कमिटीको सदस्य हुँ । एमाले र माओवादी केन्द्रबीच भएको एकताको समयमा केन्द्रीय सदस्य भएको हुँ । अहिले त्यो मनोनयनलाई प्रतिनिधिहरूबाट अनुमोदित हुन चाहेको छु। तर अहिले पनि कसरी अघि बढ्ने भन्ने विषयमा साथीहरूसंग परामर्शमै छु । उम्मेदवारीको घोषणा गरेको छैन ।

फेरि केन्द्रीय सदस्यमा उठ्नेछु : रचना खड्का

दसौं राष्ट्रिय महाधिवेशनको मुख्य काम नेतृत्व चयन हो । त्यो अहिलेका चुनौतीलाई सामना गर्नसक्न हुनुपर्छ । एमाले अहिले चौतर्फी घेराबन्दीमा छ । त्यो घेराबन्दीसँग लड्नका लागि र त्यसलाई निस्तेज बनाउनका लागि एमाले आन्तरिक रुपमा समक्ष छ भन्ने सन्देश दिने पहिलो विषय हो।

पछिल्ला घटनाक्रमले पार्टीभित्र एकता नै मुख्य कुरा रहेछ भनेर पुष्टि गरेको छ । पार्टीभित्र जेसुकै होस् भन्ने बेवास्ता गरेर अन्य पक्षसँग कुरा मिलाउन खोज्यौं, अन्य राजनीतिक दलहरूबाट चुनौतिलाई सामना गर्ने बाटो खोज्यौं । तर त्यो कुरा असफल भयो, एमालेले चुनौतिलाई सामना गर्ने भनेको मुख्य रुपमा आन्तरिक र भावनात्मक एकता, चुस्त संगठनकै माध्यमबाट हो ।

यो महाधिवेशनले अब एमाले भावनात्मक रुपमा पनि एकतावद्ध भयो, संगठनात्मक रुपमा पनि चुस्त भयो र नेतृत्व पनि त्यही अनुसार आयो भन्ने सन्देश दिनु पर्छ । त्यसका लागि गर्ने भनेको सर्वसम्मत नेतृत्व छनोट पनि हो । किनभने ९० प्रतिशत प्रतिनिधिहरू सर्वसम्मत रुपमा आउनुभयो त्यसको अर्थ नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भन्ने हो । महाधिवेशन ५-५ वर्षमा हुनुपर्थ्यो तर अहिले ७ वर्षमा हुँदैछ ।

नवौं महाधिवेशनबाट कम उमेरको केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएको थिएँ। आफूभन्दा अग्रज रहेका सबैको पङ्तीलाई हेर्दा यसपटकका लागि केन्द्रीय सदस्यको उम्मेदवारी नै उपयुक्त हो भन्ने लागेको छ ।