काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारेका छन् । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफुले कुनै सुझाव वा कदम नचाल्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


आफुले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उनले आफु अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताए । उनले भने, ‘यदि म उठ्ने भएँ भने मैँले कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ । किनभने म आफै अध्यक्षको पदमा भएको मान्छेले तपाईं नउठ्दिए हुन्थ्यो भन्ने कुरा सामान्य आग्रह गर्दा पनि दबाब हुनसक्छ । दबाब दिने मेरो कुनै मनसाय होइन ।’

अध्यक्षमा उम्मेद्वारी दिएर आफुलाई भीम रावलले चूनौती दिएको नभई आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उनले बताए । उनले भने, ‘रावलजीले मलाई चुनौति दिनु भएको छैन । मप्रति उहाँले माया, स्नेह देखाउनुहुन्छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु ।’

त्यस्तै उनले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको दाबी गरे । आफुहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुढृदीकरणको अवसर मिलेको उनको भनाई छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिए । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सवै न्यायधिशले राजीनामा गर्नुपर्ने बताए । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उनले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गरे । उनले आफुलाई संसदले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताए ।