काठमाडौँ – विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । “समितिले महानगरपालिकासँग चार चरणमा गरी रु ११ करोड ५० लाख लिएको छ, समितिले २०७५ जेठ २९ गते रु ५० लाख, २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ८ गते रु पाँच करोड र २०७७ जेठमा रु एक करोड लिएको छ, यही रकमबाट काष्ठमण्डपको पुनःनिर्माण सम्पन्न हुन्छ, थप पैसा चाहिँदैन”, उनले भने ।


ADVERTISEMENT

# # #


भूकम्पपछि पुरातत्व विभागले आर्थिक वर्ष २०७२/२०७३ मा गरेको काष्ठमण्डप पुनःनिर्माणको लागत अनुमानअनुसार रु १९ करोड ८० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । विभागले गरेको प्रारम्भिक अनुमानभन्दा रु सात करोड ५० लाख सस्तोमा समितिमार्फत् काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको छ । समुदायलाई नै सम्पदा पुनःनिर्माणको जिम्मेवारी दिँदा कम लागतमा काम भएको हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माण सुरुको चरणमा विवादमा परेको थियो । यसअघि अर्को समिति गठन भएर पुनःनिर्माण अघि बढाउन खोजे पनि विभिन्न अवरोध आएको थियो । काष्ठमण्डप पुनःनिर्माणका लागि २०७५ साल वैशाख १८ गते पुनःनिर्माण समिति गठन गरिएको थियो । समितिले त्यसै वर्ष कात्तिक २२ गतेदेखि पुनःनिर्माणको काम सुरु गरेको हो ।

कम्तीमा दुई हजार वर्ष टिक्ने काठको प्रयोग

धेरै काठ प्रयोग गरेर पुनःनिर्माण गरिएको काष्ठमण्डपमा पुनःनिर्माणका क्रममा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने समितिका सचिव गौतम डङ्गोल बताउँछन्। समिति अध्यक्ष शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ सङ्कलन गरेर ल्याई पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं २०७२ वैशाख १२ गतेअघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनःनिर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६०० वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ । ‘कार्बन डेटिङ’ को प्रमाणका आधारमा बेलायतमा गरिएको परीक्षणका आधारमा दुई काठ कति पुराना हुन् भनी प्रमाणित गर्न सकिएको समितिले जनाएको छ ।

बीचमा काठका ठूलाठूला चार थामलगायत संरचना सातौँ शताब्दीकै स्वरुपमा बलियो गरी पुनःनिर्माण गरिएको छ । काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग गरिएका सबै काठ उच्च गुणस्तरका प्रयोग गरिएकाले कम्तीमा दुई हजार वर्षसम्म केही नहुने समितिको विश्वास छ ।

सातौँ शताब्दीकै स्वरुप र प्रविधिमा काष्ठमण्डप

सातौँ शताब्दीमा काष्ठमण्डप निर्माण गर्दाकै जस्तो प्राचीन प्रविधिमा यसको पुनःनिर्माण सम्पन्न भएको छ । बाँस र डोरी प्रयोग गरेर काठमाथिसम्म लगिएको थियो । आधुनिकरुपमा प्रयोग गरिने ‘हेभी इक्विपमेन्ट’ काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग नगरी प्राचीन प्रविधिबाट पनि यति ठूला भवन बनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।

प्राचीन प्रविधिबाट नै यस्ता भवन निर्माण गर्नसक्ने जनशक्ति स्वदेशमा अझै छ भन्ने पनि काष्ठमण्डप पुनःनिर्माणले प्रमाणित गरेको छ । समितिका सचिव डङ्गोल प्राचीन स्वरुपमा पुरातात्विक महत्वका सम्पदा बनाउन सक्ने जनशक्तिको संरक्षणमा सरोकार भएका सरकारी निकायले ध्यान दिनुपर्ने बताउँछन् । काष्ठमण्डप पुनःनिर्माण व्यवस्थापन, पुँजी र प्रविधि सबै नेपाली नै प्रयोग गरी गरिएको छ ।

सिमेन्ट प्रयोग नगरी माटोको जोडाइमा निर्माण गरिने पुरातात्विक महत्वका सम्पदा आधुनिक विज्ञानले भने सरह टिक्ने काष्ठण्डपबाट पुष्टि भएको समितिको भनाइ छ । एक हजार ४०० वर्षअघि नेपालमा काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको प्रविधि आधुनिकरुपमा नयाँ प्रविधिजत्तिकै टिकाउ छ भन्ने बेलायतमा गरिएको परीक्षणबाट प्रमाणित भएको छ ।

मर्मत सम्भारको समय समितिले लेखेर दिने

विसं २०७२ मा भन्दा ठूलो भूकम्प आउँदा १९९० सालमा नभत्किएको काष्ठमण्डप बेला बेलामा गरिनुपर्ने मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नपु¥याउँदा नै भत्किएको देखिएको स्थानीयवासी एवं समितिका उपसचिव बीरबललाल श्रेष्ठ बताउँछन् । बेलाबेलामा सही तरिकाले मर्मत सम्भार गरिएकाले हनुमानढोका दरबार क्षेत्रको तलेजु र भक्तपुर दरबार क्षेत्रको पाँचतले मन्दिर भत्किएन । विसं १९९० को भूकम्पमा तलेजु भवानी मन्दिरको माथिल्लो भागमात्र भत्किएको थियो ।

काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर लोकार्पण गर्ने कार्यक्रममा नियमितरुपमा मर्मत सम्भार गर्नुपर्ने समय लिखितरुपमै तयार पारेर सरोकार भएका निकायलाई बुझाउने समितिको तयारी छ । त्यसलाई काष्ठमण्डप उद्घाटन कार्यक्रममा सार्वजनिक गरिने छ ।

काठमाडौँको नामकरण भएको काष्ठमण्डपको ऐतिहासिकता

मरुसत्तल नामलेसमेत चिनिने काष्ठमण्डपबाट नै राजधानी काठमाडौँको नामकरण भएको हो । साढे छ वर्षअघिको भूकम्प जानुभन्दा अघिसम्म १२ औँ शताब्दीमा निर्माण भएको विश्वास गरिने काष्ठमण्डप क्षतिग्रस्त अवस्थामा गरिएको उत्खनन्बाट सातौँ शताब्दीमा निर्माण भएको तथ्य पत्ता लागेको हो । विभाग, बेलायतको दुरहाम विश्वविद्यालयलगायत गरेको अनुसन्धानका क्रममा काष्ठमण्डपको गर्भगृहमा प्राप्त प्रमाणका आधारमा सातौँ शताब्दीमा निर्माण भएको तथ्य सार्वजनिक गरिएको हो ।

काष्ठमण्डप निर्माणका सम्बन्धमा प्राप्त किंवदन्तीअनुसार मच्छिन्द्रनाथको जात्रा हेर्न कल्पवृक्ष आएका थिए । हनुमानढोका दरबार क्षेत्रको एक मन्दिरका पुजारीले उनलाई चिनेर समाती राखेछन् । कल्पवृक्षलाई एउटा सत्तल बनाइदिने प्रतिज्ञा गरेपछिमात्र पुजारीले छाडेका थिए । त्यसै प्रतिबद्धताअनुसार कल्पवृक्षले पठाएको एउटै वृक्षबाट काष्ठमण्डप निर्माण सम्पन्न गरिएको विश्वास गरिन्छ ।

काष्ठमण्डपका बीचमा राखिएको प्रस्तर मूर्तिलाई गोरखनाथको मूर्तिका रुपमा पुजिन्छ । नाथ सम्प्रदायका कानपट्टा योगीले यो मूर्तिलाई मूल देवता मानी पूजा आराधना गर्दछन् । प्राचीन नेपालमा यो मूर्ति चौरासीसिद्धमध्येका लुइपादको मूर्ति हो भनी उल्लेख गरिएको छ ।


ADVERTISEMENT

#
#


मरुसत्तलको नामलेसमेत प्रसिद्ध रहेको काष्ठमण्डपको उद्देश्य बटुवाको बासस्थानका रुपमा प्रयोग गर्नु हो । हाल यहाँभित्र भजनकीर्तन तथा धार्मिक प्रवचन पनि हुने गरेको छ । रासस

प्रतिकृया

प्रतिकृया