काठमाडौं – न्युजिल्यान्ड टी-ट्वान्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT


१६७ रनको लक्ष्य न्युजिल्यान्डले १ ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्यान्ड टी ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो ।


ADVERTISEMENT

# # #


खराब शुरुवातका बाबजुत न्युजिल्यान्डले खेल जित्यो । न्युजिल्यान्डको जितमा डार्यल मिचेलले नटआउट ७२ रन बनाए । उनले ४७ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । यस्तै, डेबोन कोन्वेले ३८ बलमा ४६ र जेम्स निसमले ११ बलमा २७ रनको आक्रामक पारी खेले ।

४ रनमा पहिलो र १३ रनमा दोश्रो विकेट गुमाउँदै धर्मराएको न्युजिल्यान्डले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । १७ औँ ओभरमा २३ रन लिंदै न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको थियो । न्युजिल्यान्डले १८ औँ ओभरमा १४ र १९ औँ ओभरमा २० रन लिंदै एक ओभर पहिले नै खेल जित्यो ।

यससँगै न्युजिल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकपको फाइनलमा भोगेको इंग्ल्यान्डसँगको पराजयको बदला पनि लियो । उक्त खेलमा इग्ल्यान्ड बाउन्ड्री धेरै प्रहार गरेको आधारमा विजयी हुँदै विश्वकप जितेको थियो ।

न्युजिल्यान्डले फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच विहीबार ९भोली० हुने दोश्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो । इग्ल्यान्डका मोइन अलि ५१ रनमा नटआउट रहे । यस्तै, डेभिड मलानले ४१ र जोस बटलरले २९ रनको योगदान गरे ।