परासी– ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनको तयारी थालेको छ । पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT


जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल छैन । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालको लागि भौतिक पूर्वाधार तयार भइसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘करिब साँढे छ रुपैँया करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अव पाल्हीनन्दन अस्पतालको रुपमा सञ्चालनमा ल्याउँछौँ’, उनले भने । नवनिर्मित भवनबाट हाल पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरिएको छ भने आवश्यक प्रक्रिया पूरा गरेर अस्पतालमा परिणत गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए। तत्कालका लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने उनको भनाई छ ।

पन्ध्र शय्या अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए । ‘सरकारले तोकेका मापदण्डअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी भर्ना गर्ने, औषधि खरिद, प्रयोगशाला, सामान्य शल्यक्रियाको लागि आवश्यक यन्त्र उपकरणको खरिदलगायतका कार्य भइरहेको छ’, उनले भने । रासस