काठमाडौं – गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारबाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ ।


ADVERTISEMENT


एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।


ADVERTISEMENT

# # #


तत्काल सम्बोधन गरिनुपर्ने दुई र दीर्घकालीन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको ज्ञापनपत्रमा रिक्त राजदूत तत्काल नियुक्ती सहित दुई देशबिचको कुटनीतिक सम्वन्ध मजबुत बनाउन आग्रह गरिएको छ ।

नेपालमा सिओई आएर रोकिएका सबै भिषा स्टाटसका नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाईन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत् आग्रह गरिएको छ ।

श्रमिकको सिपमूलक क्षमता अभिबृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबिच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पविकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजिकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रद्धिबता एनआरएनए जापानको टोलीले गरेको छ ।

कुक भिषामा जापान जाने नेपालीहरुबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिने गरेका समस्या र उनीहरुमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ ।

जापान र नेपाल सरकारबीच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमति भए पनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाइरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न आग्रह गरिएको छ ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ति नभएकाले यथासक्य छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तिको पहल गर्न आग्रह सहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।

एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुँदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।