काठमाडौँ– गोरखापत्र संस्थानद्वारा प्रकाशित गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई पूर्वसूचनाबिना नै हटाइएकोप्रति समाजवादी प्रेस संगठन नेपालले विरोध जनाएको छ ।


ADVERTISEMENT


मंगलबार संस्थाका संस्थापक संयोजक शम्भु थापाले एक विज्ञप्ति जारी गर्दै पूर्वसुचित नै नगरी अपदस्थ गरिनु श्रमजीवी पत्रकारहरुमाथि अन्याय भएको भन्दै सोको विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले निश्चित दलको पृष्ठपोषण गरेको वा नगरेको नाममा श्रमजीवी पत्रकारमाथि गर्ने व्यवहार स्वीकार्य छैन’, विज्ञप्तिमा उल्लेख छ ।

पाँच दलीय गठबन्धनको मर्म, भावना र हरेक विषयलाई सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमतिविपरित गोरखापत्रबाट पत्रकारहरु निकालिएको जनाउँदै विज्ञप्तिमा अघि भनिएको छ, ‘संगठन श्रमजीवी पत्रकारमाथि भएको यस्तो अन्यायपूर्ण व्यवहारको विरोध गर्दछ ।’

विगत सरकारका असंवैधानिक कदमको मतियारी गर्ने, संविधान तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर पत्रकारलाई प्रताडित गराउने व्यक्तिहरु अहिले पनि सरकारी सञ्चारमाध्यममा हाबी रहेको संयोजक थापाको भनाई छ ।

व्यवसायिक समाचारकर्ममा संलग्न, हिजोका परिवर्तन पक्षधर श्रमजीवी पत्रकारहरु नै एउटा सरकारी सञ्चारमाध्यमबाट वहिर्गमित हुनु दुःखद् विषय रहेको भन्दै ती सम्पूर्ण पत्रकारलाई बिनाशर्त काममा फर्काउन समाजवादी प्रेस संगठनले अनुरोध समेत गरेको छ ।