सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको आकांक्षीहरु पनि बढिरहेका छन् । आगामी मंसिरका लागि चय भएको महाधिवेशनका लागि नेताहरुले आ–आफ्नै प्यानल बनाउनेदेखि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा समेत गरिरहेका छन् । आगामी महाधिवेशनका लागि नेतृत्वको दाबी गरिरहेका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतसँग महाधिवेशन, सरकारको गति लगायतका विषयमा हिमालय पोष्टले गरेको कुराकानीको सार : 


ADVERTISEMENT


नेपाली कांग्रेसले आफ्नो महाधिवेशन कसरी सम्पन्न गर्दै छ ? 


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसले आफ्नो महाधिवेशन विधान अनुसार नै सम्पन्न गर्छ र गर्नुपर्छ पनि । यसमा विभिन्न तहको अधिवेशन हुनुपर्छ । वडा, गाउँपालिका, नगरपालिका, प्रदेशको क्षेत्र तह ,प्रतिनिधि सभाको क्षेत्रीय तह, जिल्ला तह र प्रदेश तहमा अधिवेशन सकेर केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।

अहिले कांग्रेसले वडा तह र पालिका तहमा अधिवेशन सकिसकेको भए पनि केही जिल्लामा क्रियाशील सदस्यता वितरण समेत हुन सकेको छैन । चार-पाँच जिल्लामा यस्तो समस्या छ । वडा तहमा पनि केही स्थानमा अधिवेशन हुन सकेको छैन । केही जिल्लामा पालिका तहमा पनि अधिवेशन भएको छैन ।

हाम्रो कार्यतालिकामा दशैंसम्म गाउँपालिका र नगरपालिकाको अधिवेशन सम्पन्न गरिसक्ने थियो । तिहार अघि क्षेत्रीय तह र जिल्ला तहको अधिवेशन सक्ने भन्ने थियो । कार्तिकमा प्रदेशको अधिवेशन सकेर मंसिरको १२-१३ मा केन्द्रीय तहको अधिवेशन गर्ने भन्ने कार्यतालिका हो । केही ढीला भएको कारण केन्द्रीय तहमा महाधिवेशनको मिति तोकिएभन्दा तलमाथि हुन पनि सक्छ र समयमै हुन पनि सक्छ । कतिपय जिल्लामा तलका सबै अधिवेशन सकिइसकेको छ ।
कतिपय स्थानमा एकदमै विधि नमिल्ने गरी क्रियाशिल सदस्यता वितरण भयो । त्यसमा विवादहरु आएका छन् । एकदमै विकृति पनि देखियो । केन्द्रीय कार्यालयमा अनशन बस्नपर्नेसम्मका बाध्यता सिर्जना भयो । यसको न्यायपूर्ण र विधिसंगत ढंगबाट समाधान हुनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ ।

कांग्रेस एक लोकतान्त्रिक पार्टी भएकाले यसले त विधि र पद्धतिमा रहेर महाधिवेशन गर्नुपर्ने होइन र ?

हो, लोकतान्त्रिक ढंगले नै हुनुपर्छ । विधानमा पनि लोकतान्त्रिक ढंगले हुनुपर्ने भनेर बनाइएको पनि छ । त्यसो भनिए पनि केही जिल्लामा एकदमै नसुहाउने किसिमले विधिलाई मिच्ने काम भएको छ । विधिको खोज गर्नेहरुले नै न्यायपूर्ण र विधिसंगत ढंगबाट समाधान हुनुपर्छ भन्ने आवाज उठाएका हुन् ।

 पार्टीभित्र यत्रो विवादास्पद र विकृतिपूर्ण काम गरिरहन जरुरी थिएन । वास्तवमा निर्वाचनमा प्रतिस्पर्धा त भइ नै हाल्छ । अझै आम निर्वाचनमा त पार्टी-पार्टीबीच प्रतिस्पर्धा हुने हो । पार्टीभित्र पनि यस्तो किसिमको धुनधान गुटबन्दी गर्नु मलाई उचित लाग्दैन । यो आवश्यक छैन ।

संसारका अरु लोकतान्त्रिक पार्टीमा नेपालमा जस्तो पार्टी नेतृत्वको लागि शक्तिसंघर्ष भएको देखिँदैन । नेपालमाचाँहि स्थानीय तहदेखि नै गुटबन्दीको आधारमा एकखाले शक्तिसंघर्ष भएको देखिन्छ । यो राम्रो होइन । पार्टीभित्र मेलमिलाप र एकता हुनुपर्दछ मलाईचाँहि यो लाग्छ । सकेसम्म त निर्विरोधरुपमा विभिन्न तहमा अधिवेशन भएको उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ । नेपाली कांग्रेसले कतिपय जिल्लामा एकदमै सौहार्दपूर्ण ढंगले अधिवेशन गरेको छ भने कतिपय स्थानमा एकदमै किचलो गरेर कडा प्रतिस्पर्धा गरेर पनि अधिवेशन गर्नुपरेको अवस्था छ ।

महाधिवेशनमा तपाईंको तयारी के छ ?

मेरो आफ्नो त महाधिवेशनमा खास तयारी केही पनि छैन । कतिपय साथीहरुले मलाई तपाईं सभापतिमा उठ्नको लागि उपयुक्त व्यक्ति हो । तपाईं उठ्नुहोस्, प्रचार प्रसार गर्नुहोस् भनिराखेका छन् । उठ्न त म पनि चाहान्छु तर मलाई के लाग्छ भने म निर्विरोध हुँदाखेरी राम्रो हो ।

म निर्विरोधरुपमा हुन सकें भने म उम्मेद्वार हुन्छु । नभए मिल्ने साथीहरुको एकै मत भएर मात्र म सभापतिमा उठ्ने हो । त्यसकारण उम्मेदवार हुनका लागि मात्रै म सभापतिमा उठ्दिनँ ।

सभापति हुनको लागि म पनि तयार छु । सभापति हुनको लागि उम्मेद्वारी दिन फाइल नोमिनेसन गर्दा मात्र म उम्मेद्वार हो कि होइन थाहा हुने हो । त्यतिबेला बोल्ने कुरा हुन्छ । अहिले सभापति हुन्छु भनेर भाषण मात्र गरेर नोमिनेसन दर्ता नगर्दा राम्रो सन्देश जाँदैन । त्यसकारण म सभापतिमा उठ्ने नउठ्ने भन्ने कुरा नोमिनेसन गर्दा मात्र थाहा हुन्छ । त्यसैले कसले बढी मत ल्याउँछ भन्ने मोटामोटी आँकलनका आधारमा उसैलाई समर्थन गरौं । म पनि उठ्छु, म पनि उठ्छु भनेर धेरै विवाद गरिराख्नु उचित हो जस्तो मलाई लाग्दैन ।

त्यस्तो सहमति तपाईंको नाममा जुट्यो भने जित्छु जस्तो लाग्छ ?

मेरो नाममा सहमति जुट्यो भने म सभापति जित्छु जस्तो लाग्छ । अहिले सभापतिका उम्मेदवारका घोषणा गरिसकेका साथीहरुले पनि मलाई तपाईं उठ्ने हो भने जित्नुहुन्छ भनिराख्नु भएको छ । उहाँहरुले मलाई तपाईं लामो समयबाट पार्टीमा सक्रिय रहेको र पार्टी र देशलाई ठूलो योगदान दिएको कारण तपाईंको पक्षमा समर्थन हुन्छ भनिरहनु भएको छ । सरकारको जिम्मेवारी पार्टीले लिएको बखतमा पनि मैँले राम्रो काम गरेरर देखाएको पनि छु । साथीहरुले मलाई अन्तराष्ट्रिय प्रतिष्ठा पनि प्राप्त भएको र देश र जनताको लागि राम्रो काम गरेको कारण तपाईंको पक्षमा सहमति हुन जरुरी छ पनि भनिराख्नुभएको छ । कार्य क्षमताका आधारमा तपाईंले उम्मेदवारी दिँदा सहमति निस्कन्छ भनिराख्नुभएको छ । त्यसकारण म जित्न पनि सक्छु भन्ने लाग्दछ । तर, महाधिवेशनको वास्तविकता अलिक फरक पनि छ ।

क-कसको समर्थन पाउनुभएको छ तपाईंले ?

नामै किटान गरेर पनि किन भनौं । पार्टीभित्रकै धेरै साथीहरुले यसो भनिरहनु भएको छ । जिल्ला जिल्लाबाट भेट्न आउने साथीहरुले पनि तपाईं सभापतिमा किन नउठ्नु भएको, उठ्नुहोस् हामी समर्थन गर्छौं भन्नुहुन्छ । कतिपय साथीहरुले टेलिफोन गरेर पनि तपाईं उठ्नुपर्यो भनेर समर्थन गरिरहनुभएको छ । सबैले मलाई नै समर्थन गरेको भनेर भनेको होइन । साथीहरुको यस्तो आवाज आएको छ भनेको हो ।

केन्द्रीय तहमा पनि समर्थन गर्ने साथीहरु छन् । हामी अहिले रहेको समूहमा पनि मलाई समर्थन गर्ने साथीहरु छन् । अहिले धेरै साथीहरु म उठ्छु, म उठ्छु भनिरहनुभएको छ । मैले त्यहाँ के भन्ने गरेको छु भने जो उठे पनि सहमतिको आधारमा हामीमध्ये नै एकजना उठ्ने हो । म उठ्छु भनिरहन पर्दैन । सबैको सहमति गरेर एकजना उठौंला भन्ने मेरो मत हो । सकेसम्म निर्विरोधरुपमै होस् भन्ने हो । पार्टीमा एकता कायम गर्नको लागि त एकैजना मात्र उम्मेदवार भएको राम्रो हो । नभए पनि हामीबीच एक किसिमको समूह गुटजस्तो बनेको छ त्यसैमा आधार बनाएर लडौं भन्ने हो । अहिले फलानो नै लड्छ भनेर भन्न उचित हुँदैन ।

कांग्रेसको नेतृत्व अब कस्तो बन्न पर्छ त ?

पार्टीको नेतृत्व गर्ने सन्दर्भमा पार्टीको सभापति जो भयो उसैले सरकार चलाउने वा प्रधानमन्त्री बन्ने भन्ने रहेको छ । अब भोलिका दिनमा त्यो नहुन पनि सक्छ । जो सरकार चलाउन उपयुक्त छ उसैले सरकार चलाउने पनि हुन सक्छ । पार्टी चलाउने व्यक्ति र सरकार चलाउने व्यक्ति फरक हुन पनि सक्छ । पार्टीको नेतृत्व गर्नेले नै सरकार चलाउँछ भन्ने पनि होइन । पार्टी चलाउनु र सरकार चलाउनु फरक कुरा हो ।

पार्टीले चुनाव जितेको खण्डमा सभापतिले सरकारको नेतृत्व गर्न पनि हुन्छ र अरु व्यक्तिले सरकारको नेतृत्व गर्न पनि नमिल्ने कुरा होइन । जहाँ जो उपयुक्त छ त्यो त्यही स्थानमा रहने हो । त्यस्तो उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुपर्दछ । त्यसले मुलुकलाई फाइदा गर्दछ ।

अरु मुलुकमा पार्टीको नेतृत्व गर्नेले सरकारको नेतृत्व गरेको देखिँदैन । प्रायः मुलुकमा यही नै छ । कतिपय मुलुकमा पार्टीको नेतृत्व गर्नेले नै सरकारको नेतृत्व पनि नगरेका होइनन् । सरकार चलाउन र पार्टी चलाउन उपयुक्त मान्छेलाई छुट्टाछुट्टै जिम्मेवारी दिने हो भने मुलुक र पार्टी दुवै सम्हालिन्छ ।

अहिले सरकार कांग्रेसकै नेतृत्वमा रहेको छ मन्त्रिपरिषद् पनि लामो समयपछि विस्तार भयो । अब सरकार कसरी अघि बढ्नुपर्छ भन्ने ठान्नुभएको छ ?

सरकार अब राम्रोसँग अघि बढ्नुपर्छ । अघिल्लो सरकारमा धेरै विकृति र नराम्रा कुरा भएका कारण आलोचना धेरै भयो । सरकार पनि पाँच वर्ष नपुग्दै ढल्यो । अघिल्लो सरकारले विश्वासको मत पनि पाउन सकेन । उनीहरुको बहुमत पाएको पार्टी आफैंभित्र विभाजित भएर सकियो । विभिन्न पार्टी बने । अघिल्लो सरकारका धेरै कमीकमजोरी भए । हारेको पार्टीले सरकारको नेतृत्व लिइदिनुपर्ने अवस्था आइलाग्यो ।

त्यसकारण म के भन्छु भने हाम्रो पार्टीभित्र पनि एकताको जरुरी छ । पार्टीभित्र एकता भएन भने, आन्तरिक द्वन्द्व बढ्यो भने पार्टी कमजोर हुन्छ । जसरी अघिल्लो सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टी एक हुँदा दुई तिहाई बहुमत पायो । एकता थियो केही समय टिक्यो पनि । तर, आन्तरिक द्वन्द्व बढ्दै गएपछि छिन्नभिन्न भयो र पार्टी कमजोर भएर सकियो । बहुमत पाएको सरकार पनि ढल्यो । त्यसकारण पार्टीमा एकता चाहिन्छ । संसदमा एक तिहाई पनि मत नरहेको विपक्षी दल कांग्रेसले सरकारको नेतृत्व पाउनुको कारण सरकारमा रहेको कम्युनिष्ट पार्टीभित्र एकता नहुनुले हो । बहुमत पाएको पार्टी आज छिन्नभिन्न भएको हामी देखिरहेका छौं ।

त्यसैले कांग्रेसले भर्खरै सरकारबाट बिदा भएको पार्टीको आन्तरिक विवादबाट पाठ सिक्न जरुरी म देख्छु । सरकारको नेतृत्व लिएको कांग्रेसमा एकता हुनुपर्दछ । पार्टीमा एकता भइराखे सरकार पनि बलियो हुन्छ । सरकार बलियो हुँदा पार्टीलाई पनि राम्रो हुन्छ । पार्टीमा एकता भइराखेमा आगामी निर्वाचनमा कांग्रेसले बहुमत पाउँछ । पार्टीभित्र गुटबन्दी र शक्तिसंघर्ष नभएमा नै सरकारले सफलता पाउने हो ।

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसभित्रै पनि असन्तुष्टि देखिन्छ नि ?

हो, असन्तुष्टि देखिएकै हो । अब अहिले मन्त्री बन्न चाहनेहरु धेरै छन् । पदहरु थोरै छन् । यस्तो हुँदा असन्तुष्टि आउनु स्वाभाविकै हो । यसलाई त सामान्यरुपमा नै लिनपर्छ । मन्त्री बनाउन पनि प्रधानमन्त्रीकै मूख्य भूमिका हुन्छ । प्रधानमन्त्रीको चाहना र अन्य साथीहरुको चाहना एकै भएकोचाँहि देखिँदैन । यो सामान्य कुरा हो ।