काठमाण्डौं-मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि केही कलाकार समेत उम्मेदवार बनेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता नवल खडका, निर्माता प्रदीपकुमार उदय, निर्माता उद्धव पौडेल, अभिनेता राज घिमिरेलगायतलाई सम्बन्धित पार्टीहरूले सांसद उम्मेदवारका रूपमा चुनावी मैदानमा ओरालेका छन् । नाम चलेका अरू केही आकांक्षी कलाकारलाई भने पत्याएनन् । उम्मेदवारी पाएका कलाकारहरू अहिले आआफ्ना निर्वाचन क्षेत्र पुगेर चुनाव प्रचारप्रसारमा खटिसकेका छन् ।


ADVERTISEMENT


अभिनेत्री करिश्मा नयाँ शक्ति पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा नयाँ शक्तिबाट करिश्माको नाम पहिलो नम्बरमा आउँदा एक किसिमको तरंग पैदा भएको थियो । पार्टीले थ्रेसहोल्ड कटाउन सके करिश्मा अब प्रतिनिधिसभा सांसद बन्ने छिन् । ‘हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाउनु नै मेरो प्रमुख उद्देश्य हो,’ उनले भनिन्, ‘महिलाका पक्षमा काम गर्नलाई म राजनीतिमा आएकी हुँ ।’


ADVERTISEMENT

# # #


आफ्नो पार्टीले नयाँ र वैकल्पिक विचार लिएको हुँदा स्थापित दललाई भन्दा अलि गाह्रो भइरहेको करिश्माले बताइन् । पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेकी उनले आफ्नो पार्टीका विचार र उद्देश्य पढिदिन सबैलाई आग्रह गरेकी छन् । ‘मलाई समानुपातिक उम्मेदवार बनाइएको छ, त्यसैले एउटै क्षेत्रमा केन्द्रित हुने कुरा आएन,’ उनले भनिन्, ‘पार्टीका प्रत्यक्ष उम्मेदवारहरूलाई सहयोग गर्न विभिन्न जिल्ला पुगिरहेकी छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष उद्धव पौडेल पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । गोपीकृष्ण हलका मालिकसमेत रहेका निर्माता पौडेल हिजोआज पार्टी र साथीभाइलाई जिताउन जनताको घरदैलो चहारिरहेका हुन्छन् । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उठेका थिए ।

 

चलचित्र संघका अध्यक्ष एवं निर्माता प्रदीपकुमार उदय राप्रपा प्रजातान्त्रिकका प्रवक्ता पनि हुन् । उनलाई प्रदेश नम्बर ५ बाट समानुपातिक उम्मेदवार बनाइएको छ । समानुपातिकको सूचीमा नाम आउनुअघि नै उनी रुपन्देही पुगिसकेका थिए । संयुक्त लोकतान्त्रिक गठबन्धनको समर्थनमा उनी विभिन्न गाविस डुलिरहेका छन् । ‘वि सं २०४२ देखि राजनीतिमा लागेको हुँ,’ उदयले भने, ‘यसपालि चुनावी अभियानले खासै स्पिड समातेको चाहिँ देख्दिनँ ।’

‘दशगजा’, ‘भीमदत्त’ जस्ता राजनीतिक विषयमा फिल्म बनाएका निर्माता एवं कलाकार नवल खड्कालाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश नम्बर १ बाट प्रदेशसभातर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । वाम गठबन्धनलाई विजयी गराउन सामाजिक सञ्जालमार्फत मतदातालाई अनुरोध गरिरेहका खडका अहिले चुनावी सभाहरूमा भाग लिन व्यस्त छन् । शुक्रबार उनले फूलमाला लगाएको तस्बिर फेसबुकमा राख्दै क्याप्सनमा ‘शुभसंकेत’ लेखेका थिए ।

अभिनेता राज घिमिरेलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३ मा पर्ने ललितपुर जिल्लाको क्षेत्र नम्बर १ बाट समानुपातिकमा सिफारिस गरेको छ । फिल्म ‘चपली हाइट’ मा नायकको भूमिका निर्वाह गरेका राज लामो समयदेखि माओवादी केन्द्रका क्रियाकलापमा सक्रिय थिए ।

निर्माता मधुकुमार श्रेष्ठचाहिँ नेपाली कांग्रेसमार्फत धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ प्रदेश सभासद उम्मेदवार बनेका छन् । ‘स्पष्ट विचार, साझा सरोकार र जनहितमा कार्य सम्पादन गरिनुपर्छ भन्ने मान्यताका साथ नेपाली कांग्रेसले बहुमत प्राप्त गर्नुपर्छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्लगायत आधारभूत कुराबाट कोही पनि नेपाली वञ्चित हुन नपरोस् ।’

निर्वाचनको मुखमै राप्रपाबाट एमाले प्रवेश गरेकी गायिका कोमल वलीले प्रत्यक्ष निर्वाचनतर्फ टिकट पाउने आशा राखेकी थिइन् । तर, पार्टीले टिकट नदिएपछि उनले दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दिइन् । पछि पार्टीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिइन् । अभिनेता रवीन्द्र खड्का पनि राप्रपाका कार्यकर्ता थिए । तर, उनलाई काभ्रेबाट टिकट दिइएन । त्यसपछि उनले पार्टी परित्याग गर्दै एमाले उम्मेदवारहरूलाई सघाउने घोषणा गरे । उनी एमालेका कार्यक्रमहरूमा सक्रियताका साथ लागिरहेका छन् । – आजको कान्तिपुरबाट