चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समाजवादको निर्माण र विकास चितवन जिल्लाबाट सुरु हुने बताएका छन् ।


ADVERTISEMENT


चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले समाजवादको निर्माण राजनीतिक चेतना र आर्थिक विकास पनि राम्रो भएको जिल्लाबाट शुरुआत हुनसक्ने बताए ।


ADVERTISEMENT

# # #


चितवनबाट समाजवादतिरको यात्रा थाल्न जनतामा आर्थिक विकास ल्याउनुपर्ने र त्यसका लागि चितवन उपयुक्त हुने दाहालले बताए । राष्ट्रिय पूँजीको विकास नभई आर्थिक समृद्धि नहुने भन्दै उनले समाजवादका लागि आर्थिक विकास हुनुपर्ने बए ।

शान्तिपूर्ण प्रतिस्पर्धाबाट आफू विजयी भई यहीँबाट समाजवादको जग शुरु गरिने उनले बताए । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ का उम्मेदवार कृष्ण भुर्तेलले चुनावीसभालाई सम्बोधन गर्दै मेघौलीको पर्यटन विकासका लागि पोखरा र लुम्बिनीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।

भुर्तेलले आफू निर्वाचित भएमा दक्षिण एशियाकै नमुनाको रुपमा स्थापना भएको भरतपुरको केन्द्रीय बस टर्मिनललाई व्यवस्थित गर्ने बताए ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनुभएको छ भने राप्रपा (प्रजातान्त्रिक) र नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनबाट क्षेत्र नं ३ को १ मा कृष्ण भुर्तेल र २ मा रामलाल महतो तथा लोकतान्त्रिक गठबन्धनबाट १ नं मा दिनेश कोइराला र २ नं मा साजन महतोको उम्मेदवारी परेको छ । रासस