काठमाण्डौं- मोरङका मतदाताले व्यवस्थित सडक निर्माण गरिदिन आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसँग माग गरेका छन् । कच्ची सडकका कारण हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा आम सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता भएकाले उम्मेदवारसँग व्यवस्थित सडक निर्माण गरिदिन अनुरोध गरेका हुन् ।


ADVERTISEMENT


मोरङ बुधनगरका राजन कामतले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भए आम सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आउने बताउछन् । भोट माग्दै आउने उम्मेदवारसँग आम मतदाताको एउटै माग छ ‘कच्ची र ग्राभेल सडकलाई व्यवस्थित गरियोस् ।’ “गाउँ–गाउँमा विद्यालय स्थापना भइसक्यो, स्वास्थ्य चौकी पनि आइसक्यो अब भएका सडकलाई व्यवस्थित गर्नुपर्छ,” कामतले भने, “सडक अभावकै कारण कृषि उत्पादन बजारसम्म पु¥याउन समस्या भएको हो ।”


ADVERTISEMENT

# # #


ट्र्याक खोलिएका सडक खाल्डाखुल्डी भएर पानी जम्दा आवतजावतमा समस्या हुने गरेको छ । पिच सडक हुँदा १ घण्टामा पुग्न सकिने ठाउँमा अहिले ४ घण्टा लाग्ने गरेको विराटनगर–२ का सुभाष कामतको भनाइ छ । अब सडक सञ्जाल विस्तारमा बजेट खर्च गर्नुपर्नेमा दर्वेशाका मतदाता रुद्र कार्कीको भनाइ छ । “कनिका छरेजस्तो बजेट नछरी एकीकृत रुपमा सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्नुपर्छ,” कार्की भन्छन् , “विकसित मुलुकले पनि स्तरीय सडक विस्तारमै लगानी गरेका छन् ।” राम्रो सडक हुँदा ठाउँको सुन्दरता पनि बढ्ने उहाँको कथन छ ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । मुख्य गरी नेपाली काँग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा हुने देखिएको छ । सबै उम्मेदवारले यतिबेला चुनावी सभा र मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । यो पटकको निर्वाचनमा पार्टीभन्दा माथि उठेर मतदान गर्ने मनस्थितिमा मतदाता देखिएका छन् । शिक्षाको गुणस्तरका लागि सामुदायिक विद्यालयको स्तरोन्नतिमा समेत ध्यान दिनुपर्नेमा मोरङका जनताको जोड्दार माग छ ।

“विकासप्रेमी र जनताको सुखदुःखमा साथ दिने नेतालाई मतदान गर्ने योजना छ । झोराहाटका भरत गुरागाईंले बताए “जसले विकासका राम्रा एजेण्डा लिएर आउँछन् उसैलाई भोट दिन्छौँ ।” मोरङका मुख्य सडक मात्रै पिच भएका छन् । जनघनत्व भएको क्षेत्रमा पनि ग्राभेल मात्रै भएको छ ।