काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ ।संयुक्त राज्य अमेरिकाका लागि डा युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायत सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो । सो निर्णयसमेत वर्तमान सरकारले फिर्ता गरिसकेको छ ।

राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।

त्यस्तै बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्लाह सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्रीगाँउदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटरमा ट्रयाक निर्माण कार्य सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको छ भने औषधी ऐनलाई संशोधन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको पनि गठन गरेको प्रवक्ता कार्कीले बताए ।