काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले उक्त घटनामा कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले दार्चुलाको व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । समिति सभापति श्रेष्ठले दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि निर्देशन दिएको जानकारी दिइन् ।

त्यस्तै बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको तीन बर्ष पुरा हुदा पनि कानूनी कारवाही हुन नसकेको भन्दै छिटो भन्दा छिटो दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको उनले बताइन् । चाडबाडमा हुनसक्ने कालावजारी र म्याद सकिएका अखाद्य बस्तहरु बजारमा पठाउनेलाई कारवाही गर्दै अघि बढ्न सरकारलाई निर्देशन दिएको उनले बताइन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त घटनाका विषयमा छानविन गर्न गठित समिति प्रतिवेदन तयार गर्ने क्रममा रहेको जानकारी दिए । छिटै सत्यतथ्यका आधारमा रिपोर्ट सार्वजनिक गरिने उनले बताए । त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अहिले पनि जारी रहेको गृहमन्त्रीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले पिडित परिवारलाई आवश्यक राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ । त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।