सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले फोहोर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहोर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ । नगरपालिकाले फोहोर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहोर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रको नामनिशाना समेत राखेन । अहिले फोहोर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताए । तत्काल अस्थायी रूपमा भए पनि व्यवस्था मिलाई फोहोर उठाउनुपर्नेमा आवश्यकता उनले औल्याए ।


ADVERTISEMENT

# # #


होटल, तरकारी पसल, किराना पसल तथा घर–घरबाट निस्कने फोहार व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरे खोला र बजार आसपासका छेउछाउ फोहोरले भरिएका छन् । कतिपयले फोहोर ढडाउने गर्दा प्रदूषण बढेको छ । प्लास्टिकजन्य पदार्थ समेत जलाउने गर्दा बजारमा बस्न समेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलालले जानकारी दिए।

अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन । दीर्घकालीन सोचका साथ फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।

बाढीले वितण्डा मच्चाएको मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहोरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ । समयमै यसतर्फ ध्यान नदिने हो भने कोभिड–१९ को सङ्क्रमण, पानीजन्य रोगको उच्च जोखिम हुन सक्ने बताइएको छ । रासस

 तस्‍बिर: देवराज सुवेदी/रासस