गण्डकी – कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी देखिएका छन् ।


ADVERTISEMENT


कास्की जिल्लाका पोखरा महानगरपालिकासहित कूल पाँचवटा स्थानीय तहमा सञ्चालित ४६ योजनामा कूल रु ३१ करोड ३३ लाख ५३ हजार ९६७ लगानी भएको हो । तीमध्ये समन्वयको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष जनतालाई सुविधा पुग्ने खालका योजना छनोट गरी जिससको मौज्दात कोषको रु १९ करोड पाँच लाख ७८ हजार ३७८ र पाँचवटै स्थानीय तहको रु १२ करोड २७ लाख ७५ हजार ५८९ बराबरको विकास निर्माणमा लगानी भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

उहाँका अनुसार पालिकागत योजनाअनुसार प्रशासकीय भवन र विभिन्न वडा कार्यालयका भवन निर्माणतर्फ रु १२ करोड ८१ लाख २६ हजार ३८६, खानेपानी पूर्वाधारतर्फ रु दुई करोड ५७ लाख ९६ हजार ९९५, विद्यालय निर्माण तथा भवन मर्मततर्फ रु तीन करोड ४१ लाख ५४ हजार ९९६ र अस्पताल भवन मर्मत तथा निर्माणका लागि रु २५ लाख बराबरको बजेट विनियोजन गरिएको हो ।

“विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले लगाएको निषेधाज्ञाको अवधिमा समेत स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई तीव्रता दिइएको हो”, उनले भने, “विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन ।” संवैधानिक व्यवस्थानुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र विकास निर्माण तथा प्राकृतिक स्रोत उपयोगलगायत अनुगमन गर्ने व्यवस्थानुसार जिससले जिल्लामा तीनवटै तहबाट सञ्चालित योजनाको सरोकारवाला पक्षको समेत सहकार्यमा अनुगमनलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

निर्माण कम्पनी तथा उपभोक्ता समितिबीचको समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने तथा जग्गा विवाद समाधान एवं समयमा बजेट निकासाका लागि आवश्यक पहल गर्दै आएको बताउँदै प्रमुख क्षेत्रीले भने, “विकास निर्माणमा कमीकमजोरी तथा ढिलासुस्ती गर्ने सम्वद्ध पक्षलाई कारबाही गर्न भने कानुनी अभाव छ ।”

सहकार्यमा सञ्चालित योजना

गण्डकी प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र महानगरपालिका र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा रु नौ करोड ७३ लाख बराबरका विभिन्न छवटा विकास योजना छनोट गरी निर्माण भइरहेको छ ।

महानगरपालिकाका–७, ८ र ३१ मा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माणका लागि प्रत्येक वडालाई रु दुई करोड १८ लाख ५८ हजार ९३२ दरले कूल रु छ करोड ५५ लाख ७६ हजार ७९६, मातृशिशु मितेरी अस्पतालमा कोभिड उपचारका लागि रु २४ लाख ९५ हजार र तालबाराही माविको पर्खाल निर्माणका लागि रु १३ लाख ७७ हजार ३९०, पोखरा–२८ स्थित खानेपानी योजनाका लागि रु दुई करोड ७८ लाख ५७ हजार १४३ बजेट विनियोजन गरी निर्माण भइरहेको छ ।

जिससको मौज्दात कोष सञ्चालन निर्देशिका–२०७५ अनुसार सञ्चालित उक्त योजना सम्पन्न गर्न जिससले रु छ करोड १० लाख ९६ हजार र महानगरपालिकाले रु तीन करोड ६५ लाख ८२ हजार ८६४ विनियोजन गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार यस कार्यक्रममा उपभोक्ताले देखाएको उत्साहले तोकिएको समयमा निर्माण सम्पन्न हुने विश्वास लिएको छ । कोरोना भाइरस महामारीका बीच पनि निर्माणले तीव्रता पाएको छ ।

भौतिक पूर्वाधार र खानेपानीमा जोड

मादी गाउँपालिकामा साझेदारी कार्यक्रमबाट भौतिक पूवाधारतर्पm नौवटा योजना र खानेपानीतर्पm आठ योजना छनोट भएको छ । तीमध्ये अधिकांश योजना निर्माण सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा छन् । भौतिक पूर्वाधारतर्फ जनतालाई प्रत्यक्ष सुविधा पु¥याउने उद्देश्यले वडा नं ४, ५, ६, ७, ८, ९ र १२ मा वडा कार्यालय भवनसहित ध्रुव मावि निर्माण तथा मर्मत र हिमालय माविको रिटेलिङ वाल गरी कूल रु छ करोड १७ लाख ८० हजार ६२४ लागतमा निर्माण सम्पन्न गरिएको छ भने उक्त निर्माणका लागि जिससको रु तीन करोड ७० लाख ७६ हजार ३९८ र बाँकी स्थानीय तहसँगै जनसहभागितासमेत परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिए ।

गाउँपालिकाका विभिन्न वडामा रु ७१ लाख ६३ हजार ५०५ लागतमा आठवटा खानेपानी योजना निर्माण गरिएको छ । जसबाट २०० भन्दा बढी परिवारलाई खानेपानीको सुविधा पुगेको छ । खानेपानी योजनाबाट गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानलाई समेत सहयोग पुगेको छ । उनका अनुसार जिससको आर्थिक सहयोगबाट निर्माण गरिएको सुविधासम्पन्न वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सेवाप्रवाहमा सुविधा नपुगेको हो ।

शीतल गुफामा १०८ धारा निर्माण

जिससको मौज्दात कोष र गाउँपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, ४, ५, ७, ८ र ९ का वडा कार्यालय भवन एवं पर्यटकीयस्थल शीतल गुफामा १०८ धारा निर्माण गरिएको छ । कूल रु चार करोड ७० लाख ८६ हजार ७२२ को लागतमा छवटा नयाँ वडा कार्यालय भवन निर्माण गरिएको छ भने रु २५ लाख ४८ हजार ८२० लागतमा शीतल गुफामा १०८ धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

यसका लागि जिससको रु दुई करोड ८७ लाख छ हजार ८४७ र गाउँपालिकाको रु एक करोड ८७ लाख ७९ हजार ७७६ लगानी भएको छ । उक्त निर्माण सम्पन्न भएसँगै स्थानीय जनतालाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, “गाउँपालिकामा सञ्चालित सम्पूर्ण योजना प्रभावकारीरूपमा अघि बढेका छन् ।”

विकास निर्माणमा देखिएका समस्या आपसी समझदारीका आधारमा समाधान हुँदै आएका छन् । सबैको साथ र सहयोगले नै गाउँपालिकाको समग्र विकास निर्माणमा सहयोग पुगेको उनको भनाइ छ ।

रुपाकोट अस्पताल सञ्चालनमा

कास्की जिल्लाको भौगोलिक हिसाबले सबैभन्दा सानो तथा सुन्दर गाउँपालिका रुपामा साझेदारीमा सञ्चालन गरेको १९ योजनामध्ये १५ शय्याको विशेष रुपाकोट अस्पताल निर्माण गरी सञ्चालनमा आएको छ । रुपा गाउँपालिका–६ स्थित फालभञ्ज्याङमा कूल रु ४१ लाख ४२ हजार ३१६ को लागतमा निर्माण गरिएको हो । सो अस्पतालका लागि जिल्ला समन्वय समितिको मौज्दात कोषको रु १० लाख र गाउँपालिकाको २५ लाख लगानी गरेको हो ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरस सङ्क्रमणको उपचारमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार अस्पतालमा कोरोना सङ्क्रमित ९३ जनाको उपचार गरिएको थियो । तीमध्ये ९५ प्रतिशत बिरामी पालिकामै उपचार गरेर घर फर्केको उनको भनाइ छ ।

अस्पतालसँगै गाउँपालिकाले सामुदायिक विद्यालयको भौतिक निर्माणमा जोड दिएको बताउँदै अध्यक्ष ओझाले कूल रु एक करोड दुई लाख ३५ हजार ४७१ को लागतमा १७ वटा सामुदायिक विद्यालयका भवन निर्माण तथा मर्मत गरिएको जानकारी दिए । वडा नं २ को वडा कार्यालय भवनसमेत निर्माण गरिएको छ ।

त्यसैगरी साखु खानेपानी योजनाका लागि रु दुई करोड ५९ लाख ८४ हजार ९५१ र वडा नं २ वडा कार्यालय भवन निर्माणका लागि रु तीन करोड १७ लाख ५१ हजार २६७ बराबरको रकम विनियोजन भएको उनको भनाइ छ । सम्पूर्ण योजनाका लागि जिसस मौज्दात कोषको रु तीन करोड १४ लाख ३०० र बाँकी गाउँपालिकाले व्यहोरेको हो ।

प्रशासकीय भवन निर्माण गर्दै

कास्कीको अर्को माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ । कूल रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा निर्माण गर्न लागिएको सो भवन निर्माणका लागि जिल्ला समन्वय समितिको मौज्दात कोषको रु दुई करोड ५० लाख, गण्डकी प्रदेश सरकारबाट थप रु एक करोड र गाउँपालिकाको रु तीन करोड १२ लाख ११ हजार ९०६ रहेको छ ।

पाँचवटा स्थानीय तहमध्ये पहिलो अत्याधुनिक सुविधासम्पन्न गाउँपालिकाको केन्द्र लाहाचोकमा निर्माण भइरहेको ३६ कोठे सो प्रशासकीय भवनमा २०० जना क्षमताको एक हल, दुई बैठककक्षसमेत रहेका छन् । भवन अपाङ्गमैत्री रहेको छ ।

विसं २०७८ फागुन १६ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नयाँ बाटो÷जिएस इञ्जीनियरिङ जेभी पोखरा–५ सँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको सो भवनको हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको गाउँपालिकाका सबइञ्जीनियर राजेन्द्र गौतमले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार साझेदारी कार्यक्रमअन्तर्गत वडा नं ९ को आधुनिक सुविधासहितको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । जिससको रु ५९ लाख ९४ हजार एवं गाउँपालिकाको रु ३९ लाख ९६ हजार गरी कूल रु ९९ लाख ९० हजार १०७ को लागतमा भवन निर्माण गरिएको बताउँदै उनले भने, योजनाको प्रभावकारी अनुगमनले विकास निर्माणमा स्थानीय बासिन्दामा समेत चासो चर्चा बढेको छ ।

जिससको मौज्दात कोषबाट रु १५ लाख र गाउँपालिकाबाट रु १० लाखसहित कूल रु २५ लाख लागतमा गाउँपालिकाको केन्द्र लाहाचोकस्थित महेन्द्र माविको खेलमैदान निर्माण भइरहेको छ । रासस