काठमाडौँ – सर्वोच्च अदालतको आदेशसंगै प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समितिहरु पनि क्रियाशिल हुन थालेका छन् । यसै क्रममा मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठक बसेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बसेको बैठकले अख्तियार, निर्वाचन आयोग र लोकसेवा आयोगको प्रतिवेदनलाई संसदमा पेश गर्ने निर्णय गरेको छ । समिति सभापति शशी श्रेष्ठले उक्त प्रतिवेदनमा आएका सुझावहरुलाई समेट्न समिति सचिवलाई निर्देशन दिएको र समितिले सवै सुझावलाई समेटेर तयार पारेपछि प्रतिवेदन संसदमा पेश गरिने बताइन् ।


ADVERTISEMENT

# # #


उनले उपसमितिमा छलफल भएको प्रतिवेदनलाई समितिमा दफावार छलफल गर्न आवश्यक नरहेको तर सांसदहरुले राखेका सुझावहरुलाई भने समावेश गरिने जानकारी दिइन् ।

बैठकका सांसदहरुले प्रतिवेदनलाई पुन समितिमा दफावार छलफल हुनुपर्ने धारणा राखेका छन् । सांसद रेखा शर्माले उपसमितिले समितिमा प्रतिवेदन बुझाइसकेको अवस्थामा अव त्यसलाई समितिले आवश्यक सुझाव समेटेर अघि बढाउनुपर्ने बताइन् ।

त्यस्तै सांसद बिजय सुब्वाले उपसमितिबाट आएका प्रतिवेदनलाई पुन समितिमा दफावार छलफल गरेरमात्र अघि बढाउन उचित हुने धारणा राखेका थिए । त्यस्तै अन्य सांसदहरुले आवश्यक परिमार्जन र सुझावलाई समेटेर मात्र अघि बढाउनुपर्ने धारणा राखेका थिए ।