काठमाडौँ – नेकपा एमालेले आफ्नो पार्टीको विभाजनलाई औपचारिकता दिन प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


ललितपुरमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतको आदेशपछि पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको र यसले एमाले विभाजनलाई औपचारिकता दिन खोजेको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


यस्तै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए एमाले सांसदहरुलाई पार्टीबाट निष्काशित गर्ने चेतावनी दिएको छ । आइबार च्यासलस्थित तुलसी स्मृति भवनमा बसकोे बैठकले देउवालाई विश्वासको मत दिनेलाई कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेकपा एमालेले देउवाको विपक्षमा मतदान गर्ने बताउँदै प्रवक्ता ज्ञवालीले पार्टीको निर्देशन विपरित जानेहरुलाई पार्टीमा कुनै पनि स्थान बाँकी नरहने बताए । उनले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने अनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिने साथीहरू एमालेमा रहनुहुन्न ।’

बैठकले एमाले प्रतिपक्षीमा रहने भएकाले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत नदिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकताका लागि कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयनका लागि माधव नेपालले अस्वीकार गरेको बताए ।

बैठकले १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकमा एमालेका माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिने माधव नेपाल समूहले संकेत गरेको छ । यद्दपी आधिकारिक निर्णय भइसकेको छैन ।