तनहुँ – केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।


ADVERTISEMENT


वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।


ADVERTISEMENT

# # #


नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए ।

तीन कार्यविधि पारित

नगरपालिकाले तीनवटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका स्थानीय राजश्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि–२०७८, व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि–२०७८ र व्यास नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि पारित भएको छ ।

बैठकले नगरपालिकामा हाल खरिद गरिएको दुई थान ठूलो ट्र्याक्टरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्ने गरी सम्बन्धित वडाहरुको अनुगमनमा किसानलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । साथै विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धित विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णयसमेत भएको प्रवक्ता श्रेष्ठले बताए ।

शिविरमा ८६ व्यक्तिगत घटना दर्ता

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ज्यामिरे निवासी तिर्सरा गुरुङको छोरी जन्मिएको एक महिना पुग्यो । उनले घर नजिकै सञ्चालित दर्ता शिविरबाट छोरीको जन्मदर्ता गराए । पैँतीस दिनभित्र वडा कार्यालयमा पुगेर निःशुल्क घटना दर्ता गराउन सकिन्छ । छोरीको जन्मदर्ताका लागि गुरुङलाई वडा कार्यालयसम्म पुग्न परेन । आँबुखैरेनीले वडाका विभिन्न ठाउँमा सञ्चालन गरेको दर्ता शिविरले गुरुङलाई सहज भयो ।

गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता लिने विवरण दर्ता तथा गुनासो दर्ता सुनुवाइ गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडाका विभिन्न ठाउँमा आइतबारदेखि शिविर सञ्चालन गरेको छ । घटना दर्ताका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने स्थानीयवासीलाई शिविरले राहत मिलेको छ । गाउँपालिकाका छवटै वडामा एकैसाथ शिविर शुरु भएको छ । आँबुखैरेनी वडा नं १ को समस्तीपुर र याञ्चोक, वडा नं २ को सहकारी टोल र तिलबारी, वडा नं ३ को ज्यामस्वारा र पानीघट्टा, वडा नं ४ को बेनीटार र भाँगे, वडा नं ५ लाब्दी र सानोभञ्ज्याङ र वडा नं ६ को हिलेखर्क र प्युघरफाँटमा शिविर सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा मङ्गलबारसम्म ८६ व्यक्तिगत घटना दर्ता भएका छन् । त्यस्तै २० गुनासो र एक सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता भएको छ । दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइँ) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ । शिविर असार २५ गतेसम्म सञ्चालन हुनेछ । रासस