नवीन रिजाल, दैलेख– नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तानलाई जन्म दिइन् ।


ADVERTISEMENT


छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उनको सोचाई कल्पानामा मात्रै सिमित रह्यो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो । त्यै पनि एक छाक खाएर भए पनि छोराछोरीलाई उनले जसोतसो हुर्काइन् । छोराछोरीको मायाका कारण उनले अर्को विवाह पनि गरिनन् । र, विसं २०५६ मा छोरा अमरको विवाह गरिदिइन् । उनीहरूबाट एक नातिनीको जन्म भएपछि भने उनलाई केही सान्त्वनाको महशुस भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसताका उच्च रहेको माओवादी ‘जनविद्रोह’ उत्कर्षका कारण गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । आफ्नो छोरा पनि भर्खरै भएकाले उनमा पनि ‘आफ्ना छोरालाई लग्छन्, कि !’ भन्ने डरले सताइरहन्थ्यो । एकदिनको कुरो हो, बुहारी दुई महिनाको सुत्केरी थिइन् । उनले छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाममा पठाइन् । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘म घरको भूइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्’, त्यसबेलको घटनालाई स्मरण गर्दे उनले भनिन् ।

छोराको चिन्ताले उनलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेच्नु भयो । छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधे । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पनि पाइन् । छोरा आउने आशामा रहेकी नन्दकली भोकै बसेको धेरै दिनहरु पनि छन् । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरेकी उनको मनको इच्छा न देवीदेवताले बुझे । न त, अपहरणकर्ताले नै बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो ।

एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै आएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्को विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।

तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसंग मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन् । अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उनी मुटु र मधुमेहसमेतको बिरामी हुन् । पैसाको अभावमा खान लाउन नै नसकेकी उनले आफ्नो उपचार पनि उपचार गर्न सकेकी छैनन् । अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । सुस्केरा तान्दै उनी भन्छिन्, ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु ।’

जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौं व्यक्ति मारिएका छन्, भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । रासस