काठमाडौँ– नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ ।


ADVERTISEMENT


कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गरेका हुन् । उनले महोत्वसबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताए ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देश–विदेशबाट सात सय ६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका ४१ कविता छनोट गरेको जानकारी दिएका छन् । उनले वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको जानकारी दिए ।

मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य ध्रुव मधिकर्मी र उपप्राध्याक डा बिन्दू शर्मा सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ । आरम्भमा अतिथि कविहरु डा बेन्जु शर्मा, आरडी प्रभास चटौत, बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रु ३० हजारसहित पुरस्कार प्रदान गरियो ।

प्रतिष्ठानले वि=सं २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस (असार ९) मा कविता महोत्सव आयोजना गर्दै आएको छ । रासस