काठमाडौँ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघले राष्ट्रपतिले खेलेको भूमिकामाथि प्रश्नचिन्ह खडा गर्ने र अनावश्यक विवादमा तान्न खोज्ने काम भएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध मानवता विरोधी अभिव्यक्ति दिएको भन्दै त्यस्ता अभिव्यक्तिको भण्डारफोर गर्न युवासंघले आह्वान गरेको हो ।


ADVERTISEMENT


वास्तविकता नभई विकाउ राजनीति तथा अभिव्यक्तिको लागि राष्ट्रपतिले भूमिका खेलिरहेकोमा प्रश्न चिन्ह खडा गर्ने र अनावश्यक विवादमा तान्ने कुचेष्ठा गरेको भन्दै संघले आपत्ति जनाएको हो । विगतमा पनि राष्ट्रपतिसँग जोडेर कहीले हेलिकप्टर खरिद, कार्पेट परिवर्तन, कुटनैतिक खोपको पहल लगायतका विषयमा राष्ट्रपतिलाई विवादमा तान्न खोजिएकोमा अहिले पुनः संविधानविद्को नाममा अनावश्यक विवादमा तान्न खोजिएको आरोप युवासंघका महासचिव रमेश आचार्यले बताएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले आम नागरिकको अभिभावकत्व गर्ने भएकाले जनतामा जे समस्या आउँछ सोही अनुसार समय सापेक्ष निर्णय गरी जनताको सेवामा समर्पित हुनुपर्नेमा राष्ट्रपतिले त्यस्ता काम गर्दै गएको दावी उनको छ । कोरोनाको कहरका बिच विश्वका शक्तिशाली मुलुकले समेत कोरोनाविरुद्धको खोप नपाइरहेको अवस्थामा राष्ट्रपति भण्डारीकै पहलमा चीन, अमेरिका, रुसलगायतका देशहरुबाट खोपको व्यवस्थापन भएर आउने क्रममा रहेको दावी उनको छ ।

संविधानििवपरितका सरकारका काममा राष्ट्रपतिले सहयोग गरेको भन्दै संविधानविद् भीमार्जुन आचार्य लगायतका व्यक्तिले उनको आलोचना गर्दै आएका छन् ।
उक्त आलोचना वास्तविकतालाई लुकाएर संविधानको व्याख्याता तथा राजनीतिक नेता हुँ भन्ने व्यक्तिहरुले राष्ट्रपति जस्तो सम्मानित संस्था माथि अनावश्यक तवरले जाई लागेर लोकतान्त्रीक व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भएको आरोप युवासंघ महासचिव आचार्य बताउँछन् ।
उनले भने, ‘संविधानविदका नाममा सम्माननीय राष्ट्रपति ज्युलाई जोडेर राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध व्यक्त मानवता विरोधी अभिव्यक्तिको भण्डाफोर गरौं ।’

राष्ट्रपतिको चोसोको विषयमा संविधानविद्, नेता तथा विभिन्न व्यक्तिले संविधान विपरित भएको भन्दै विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिनु अभिव्यक्ति स्वतन्त्रताको समेत धज्जी उडाएको आरोप युवासंघले लगाएको छ ।

त्यस्ता अभिव्यक्ति दिँदै हिँड्ने संविधानविद्हरु मानवताविरोधी भएको आरोप लगाउँदै उनले मुलुकमा फेरि अस्थिरता निम्त्याउन खोज्ने व्यक्तिहरुको साधन बनेर गणतन्त्र नेपालको संस्थाको मर्यादालाई गिराएर परिवर्तनका उपलब्धिहरुलाई उल्टाउन उद्दत रहेको आरोप युवासंघको रहेको छ ।

यस्ता क्रियाकलापको युवा संघ, नेता र कार्यकर्ताहरुले भण्डाफोर गर्ने महासचिव आचार्यले बताए ।