काठमाडौँ –आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गत आगामी जुलाई अन्तिम साता स्पेनमा हुने सिरिजका लागि बन्द प्रशिक्षणमा २० सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।


ADVERTISEMENT


नेपालले स्पेनमा स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैको तयारीका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । खेलाडीको तयारीका लागि मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइसकेका छन् ।


ADVERTISEMENT

# # #


बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

यस्तै कमल सिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुसन भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र पृथु बास्कोटा पनि बन्द प्रशिक्षण बोलाइएका छन् ।

विश्वकप लिग-२ अन्तर्गतको उक्त सिरिज स्कटल्याण्डमा हुनुपर्ने थियो । तर, कोरोनाका कारण स्कटल्याण्डले सिरिज आयोजना गर्न नसक्ने जनाएपछि स्पेनमा हुन लागेको हो ।

के हो विश्वकप लिग-२ ?

१३ औँ संस्करणको एकदिवसीय क्रिकेट विश्वकप सन् २०२३ मा भारतमा आयोजना हुँदैछ । उक्त विश्वकपको सुरुवाती छनोट प्रतियोगिता अन्तर्गत लिग–२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ ।

आइसिसीले सन् २०१९ देखि २०२३ सम्म चल्ने प्रतियोगितामा ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज हुने तालिका सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरसका कारण तालिका प्रभावित बनेको छ ।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन् । एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

नेपालले हाल ४ खेलमा २ जितसहित ४ अंकका साथ छैटौँ स्थानमा रहेको छ । १० खेल खेलेको ओमान ८ जितसहित १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै ८ खेलमा सबैमा हार व्यहोर्दै अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।

नेपालले अझै ३२ वटा खेल खेल्न बाँकी नै रहेको छ । नेपालले विश्वकप लिग-२ अन्तर्गतको पहिलो तथा अन्तिम सिरिज २०२० को फेब्रुअरीमा घरेलू मैदान त्रिवि किकेट मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । ४ खेलमा नेपालले अमेरिकासँगका दुबै खेल जितेको थियो भने ओमानसँगका दुबै खेलमा हार व्यहोरेको थियो ।

त्यसपश्चात विश्वभर कोरोना भाइरस फैलिएपछि सिरिज तालिका प्रभावित भएको छ । करिब डेढ वर्षको अन्तराल पछि नेपालले एकदिवसीय सिरिज खेल्न लागेको हो ।