म्याग्दी – केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्याएको हो । पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए । “एउटा गोठ पहिरोले पुरिएको छ, पहिरोले क्षति पुर्याएका र जोखिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ”, उनले भने “सँयौ रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ ।”


ADVERTISEMENT


घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर विस्थापित भएका छन् । घरभित्र पहिरो पसेको, आँगन भत्केको र गोठ पुरिएको स्थानीय शिक्षक खेम पुनले बताए ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए ।

मङ्गला गाउँपालिका–२ तल्लो डडुवा ९कुकुर बिसौना०मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीयवासी नेत्रराज सुवेदीले जानकारी दिए ।

यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हिलाम्मे बनाएको छ ।

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् ।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ । तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगाएको छ । घारखोलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन पुलको पनि निर्माण सामग्री बगाएको छ । पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामानसमेत बगाएको छ ।

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर अवरुद्ध सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार दिनभरि निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका हुन् । अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ । प्रनाउ अधिकारीका अनुसार मालढुङ्गा–बेनी सडकमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रहरीले मङ्गलबार दिउँसो खुलाइएको सडक साँझ फेरि पहिरो झरेर अवरुद्ध भएको उनले जानकारी दिए ।

यो सँगै जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास–रानीपानी सडक, लमाय–लुँखु सडक, पातीचौर–देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध छन् । सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बीच बाटोमा रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरु खुलाउन वर्षाका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । उनले सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन अनुरोध गरिएको बताए । निरन्तरको वर्षाका कारण भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो आउने खतरा रहेकाले सचेत रहन प्रशासनले सूचित छ । रासस