पाँचथर– फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।


ADVERTISEMENT


हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालीमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेको हो ।

कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । ‘विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ । तर, निष्कर्षमा पुग्न बाँकी छ’, प्रहरी निरीक्षक विश्वकर्माले भने । प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।

जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती कालीमायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ । पक्षघातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो ।

मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए । रासस