असोज पहिलो साता यता झापामा डेंगु संक्रमण फैलिँदै गएको छ । डेंगुको संक्रमणबाट अर्जुनधारा-११ की ३६ वर्षीया सुनीता अधिकारी बरालको मंगलबार मृत्यु भएपछि त्रास फैलिएको छ । बरालको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको डेंगु पोजेटिभ देखिएकाले सोही रोगका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले जानकारी दिए ।


ADVERTISEMENT


चार सय ४१ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर वेदप्रसाद घिमिरेले जानकारी दिए । जनस्वास्थ्य कार्यालयले दुई दिन लगाएर सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेंगु संक्रमित बिरामीको तथ्यांक संकलन गरेको थियो । डेंगु संक्रमितमध्ये दुई सय १९ जना बिर्तामोड नगरपालिकाका छन् । बुद्धशान्ति गाउँपालिकामा १५, अर्जुनधारा गाउँपालिकामा २५, मेचीनगरमा २५ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कन्काई, दमकलगायत क्षेत्रमा पनि यो रोगको संक्रमण देखिएको छ ।


ADVERTISEMENT

# # #


इलाम र ताप्लेजुङबाट पनि डेंगुका संक्रमित उपचारका लागि बिर्तामोड आउने गरेको भेक्टर कन्ट्रोलर घिमिरेले जानकारी दिए । डेंगुको प्रकोप फैलिएपछि बिर्तामोड नगरपालिकाले सबै वडामा तत्काल नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको छ । प्रकोप नियन्त्रणका लागि नगरपालिकाले पर्चा वितरण, माइकिङ, औषधि छिट्ने र बजार छेउछाउ राखिएका पुराना टायर नष्ट गर्न थालेको मेयर धु्रवकुमार शिवाकोटीले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएपछि सरोकारवाला पक्ष पनि प्रभावित क्षेत्रमा खटिन थालेका छन् । बिहीबारदेखि स्वास्थ्यकर्मीसहितको टोलीले ‘स्कुल हेल्थ कार्यक्रम सञ्चालन गर्ने जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए । अहिले पनि डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित स्थानमा ‘सर्च एन्ड डेस्ट्रोईुको काम भइरहेको छ ।

डेंगुको संक्रमण दमक, अर्जुनधारा, कन्काई, मेचीनगरलगायत नगरपालिकामा फैलिएको छ । बिर्तामोड नगरपालिका धेरै प्रभावित छ । रोग फैलिने क्रम तीव्र भएपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । केही बिरामी रगतमा प्लेटलेट्सको मात्रा घटेर अझै अस्पतालमै छन् । केहीको भारतको सिलिगुडीस्थित विभिन्न नर्सिङ होममा उपचार भइरहेको छ । डेंगु संक्रमण भई उपचार गराउँदा १५ पोका रगत चढाउनुपरेको अनुभव सुनाउँदै बिर्तामोडका डेंगु संक्रमित बिरु दर्नालले भने, ‘पहिला अलि-अलि ज्वरो आयो । पछि एक्कासि रगतमा प्लेटलेट्सको मात्रा घट्दै गएर २९ हजारमा आइपुग्यो । त्यसपछि मलाई आईसीयूमा राखेर रगत चढाउनुपर्‍यो ।

एडिज एजिप्टाई लामखुट्टेको टोकाइले एक व्यक्तिबाट अर्कोमा सर्ने डेंगु भाइरसको संक्रमण १० महिनायता देशभर आठ सय ५४ जनामा भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिए । यसपटक मनसुन ढिलो सकिने भई जताततै पानी जमेकाले डेंगु संक्रमण केही दिन लम्बिन सक्ने उनको भनाइ छ ।
ज्वरो आएको अवस्थामा सामान्य औषधि पसलमा गएर औषधि खाए डेंगु संक्रमणले ज्यानै लिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला जनस्वास्थ्य प्रमुख कोइरालाका अनुसार ज्वरो आएका बेला सिटामोल मात्र खान मिल्छ । अन्य औषधि सेवन गरेको खण्डमा शरीरको अन्य भागबाट रक्तस्र्राव हुने सम्भावना हुन्छ । डेंगुका बिरामीले झोल खानेकुरा प्रशस्त खानुपर्ने र आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । – आजको अन्नपूर्णबाट