काठमाडौँ– आफुद्वारा वितरण गरिएका प्रत्येक अक्सिजन तथा औषधिको बाहिर आफ्नो फोटो टाँसेर विवादमा तानिएका वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेले ती सामाग्री विदेशी अनुदान नभएर व्यक्तिगत लगानीमा वितरण गरेको बताएका छन् ।


ADVERTISEMENT


विदेशी अनुदानमा आएको स्वास्थ्य सामाग्रीमा आफ्नो फोटो टाँसेर वितरण गरिएको टिकाटिप्पणी झुठ भएको भन्दै उनले सो स्वास्थ्य सामाग्री आफ्नै लगानीमा खरीद गरिएको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको उनले प्रष्ट पारेका छन् ।

सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा कनिेको जनाउँदै उनले भने, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’

महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको उनको दाबी छ ।

आफु जनता सेवक भएको जनाउँदै उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटर समेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताए । उनले भने, ‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन् ।

यद्यपि आफ्नो गतिविधिका कारण विवादमा तानिरहने मन्त्री आलेले यसअघि एक कार्यक्रममा दिएको मन्तव्य पनि विवादित थिए । रासस