काठमाडौँ– साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको हो ।


ADVERTISEMENT


उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।


ADVERTISEMENT

# # #


त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु. पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । यस्तै, विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु . सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँको भनाई छ ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी उनी वि.सं २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भइन् । नेपाली भाषासाहित्यमा विद्यावारिधि (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उनीपहिलो नारी हुन् ।

डा. गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ (२०७०) प्रकाशन भएको थियो, भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेकी छिन् ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् । डा गिरिका पति, एक छोरा र एक छोरी छन् । फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस