पोखरा– कोभिड–१९ महामारीमा अपाङ्गता (फरक क्षमता) भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् ।


ADVERTISEMENT


स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता(फरक क्षमता) भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तर्क्रिया कार्यक्रममा सहभागीले विभिन्न कारणले अपाङ्गगता भएकाको अधिकारलाई स्थापित गर्न सञ्चारमाध्यमले अपाङ्गमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अझै पनि अपाङ्गता भएका समुदायलाई होच्याउने र विभेद गर्ने खालका शब्द प्रयोग गरिएका समाचार प्रकाशन तथा प्रसारण हुँदै आएको जनाएका छन् । आम नागरिकलाई सुसूचित गराउने सशक्त माध्यम र सञ्चारकर्मीले अपाङ्गतामैत्री भाषाको प्रयोग नगरिदिँदा यस क्षेत्रका व्यक्तिको आत्मसम्मानमा चोट पुग्न गएको उनको भनाइ छ ।

उहाँले शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा १० प्रकारको अपाङ्गता भएको जानकारी दिए। उनका अनुसार शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, दृष्टिविहीनता, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीन, सुनाइसम्बन्धी अपाङ्गता, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी अपाङ्गता, बहुअपाङ्गता रहेको छ ।

केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शारीरिक, मानसिक बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अपाङ्गता भएकाहरुको जनजीवन सहज हुन नसकेको बताएका छन् । उनले अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभाकारी ढङ्गले समाजिक जीवनमा सहभागी हुन बाधा भएको यथार्थ प्रस्तुत गर्दै सञ्चारमाध्यमा अपाङ्गताका मुद्दालाई प्राथमिकता दिन आग्रह गरे । उक्त भर्चुअल कार्यक्रममा सहभागी हुँदै संस्थाका परियोजना अधिकृत लोकप्रसाद ढकालले सञ्चारमाध्यममा पर्याप्त साङ्केतिक भाषा प्रयोग नभएको, टेलिभिजनमा आएका क्याप्सनहरू अपाङ्गता भएका व्यक्तिले देख्ने र बुझ्नेखालको नभएको उल्लेख गरे ।

केन्द्रका महासचिव अञ्जना केसीले अपाङ्गता भएका व्यक्तिको समाचार सञ्चारमाध्यममा आए पनि अझै गम्भीर समस्या समेटिएका कथाव्यथा बाहिर आउन नसकेको बताए । सञ्चारमाध्यमका सूचना अधिकांश अटिज्म, बहुअपाङ्गता भएका, बहिरा समुदाय र बौद्धिक अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्न नसकेको उनको भनाइ छ । केसीले कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका बीस पत्रकारले अपाङ्गतासम्बन्धी प्रयोग हुने शब्दावली एवं त्यसको अर्थ र अपाङ्गतासम्बन्धी अधिकारका विषयमाथिको छलफलमा सक्रिय सहभागिता जनाएको जानकारी दिए ।

यसअघि केन्द्रले महामारीका समयमा सूचना, सञ्चार र सेवासुविधामा अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्थासम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो । रासस