विमलबहादुर विष्ट, डोटी– जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् ।


ADVERTISEMENT


यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका हुन् ।


ADVERTISEMENT

# # #


यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेका बताइएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५२ पुगेको छ भने पाँच जनाको ज्यान गइसकेको छ । त्यसमा १७ जना मात्रै निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन्ट कृष्णराज जोशीको भनाई छ । ‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घरघर गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ’, उनले भने ।

कोरोना सङ्क्रमिण्तको खोजीसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडामा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले जानकारी दिए ।

यसैगरी शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एन्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक हरिश शाहको भनाई छ । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रूप लिने अवस्था सिर्जना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्ने कार्यलाई तीव्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउँछन् ।

पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाको ट्राभल हिस्ट्रीसमेत खोजी गर्न थालेका छन् । कोरोना परीक्षण गर्ने एन्टिजेन कीट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तह गाउँगाउँमा गएर कोरोना सङ्क्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले जनाए ।

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामी र भारतलगायतका अन्य मुलुकबाट आएका जोकोही व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सूर्य विष्टका अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोहीअनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ ।

गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, मास्क र स्यानिटाइजरसमेत घरघरमा पुगेर वितरण गर्न थालेका गड्सेरा स्वास्थ्यचौकीका अनमी विधि भण्डारीले जानकारी दिए । यसैगरी शिखर नगरपालिकास्थित स्वास्थ्य कार्यालयले पनि बिरामीबाट अरुमा सङ्क्रमण नफैलियोस् भन्ने हेतुले कोरोना लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, स्यानिटाइजर उपलब्ध गराउन थालेको स्वास्थ्य संयोजक शाहको भनाई छ । रासस