रोल्पा– कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।
शव अस्पताल पुर्याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए ।
सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले नै गर्ने गरेका कारण समुदायमा त्रास फैलिएको हो ।
नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा समेत जमघट हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ ।
छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर फर्किएका रोल्पा नगरपालिका४ का विनोद आचार्य भन्छन्, ‘कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने देखिन्छ ।’
मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि आफूहरुले नै शवको अन्त्यष्टी गरेको रोल्पा नगरपालिका४ का धनराज डाँगीले बताए ।
कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई प्लाष्टिकले राम्रोसँग मोडेर सङ्क्रमण बाहिर नजाने गरी शवको अन्त्यष्टी गरिनुपर्ने रोल्पा हुन्छ । यसका लागि आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्यष्टी गर्ने भन्ने नहुने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा बताउँछन् । ‘कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन’ , उनले भने ।
कोरोनाको पहिलो लहरको बेला सबै शव सेनाले नै अन्त्यष्टी गर्ने नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ । रासस